लुथरनद्वारा कोभिड–१९ उपचार केन्द्रलाई यू.पी.एस. हस्तान्तरण

मोरङ् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ कोशी अस्पताल अन्तर्गतको विराटनगरको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको भवनमा निर्माण गरिएको कोभिड–१९ उपचार केन्द्रको प्रयोजनका लागि लुथरन सामुदायिक कल्याण समाजद्वारा १० केभी क्षमताको यु.पी.एस. हस्तान्तरण गरेको छ ।

कोभिड–१९ उपचार केन्द्रमा प्रभावकारी रुपमा विद्युतीय संचार व्यवस्थापनका लागि लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा हिलियोस ब्राण्डको यु.पी.एस हस्तान्तरण गरिएको हो । यु.पी.एस. संगै प्रयोगमा आउने १६ थान ब्याट्री पनि संगसंगै हस्तान्तरण गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रम सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश नं. उपसभामुख सरस्वती पोखरेल, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्र साथै कोभिड–१९ उपचार केन्द्रका आपतकालिन स्वास्थ्य व्यवस्थापन प्रमुख सागर प्रसाईंको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको हो ।

हस्तान्तरण कार्यक्रममा मन्त्री घिमिरेज्यूले लुथरनको सहयोगप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो । उक्त सहयोग सामग्री जम्मा ३ लाख ६० हजार बराबरको हो भन्ने जानकारी लुथरन विश्व फेडेरेन नेपाल, प्रदेश नं १ का परियोजना व्यवस्थापक यज्ञमूर्ति गौतमले बताउनुभयो ।

Facebook Comments