म के चाहन्छु ?

म त चाहन्न आत्मा गुमाउन,
सारा संसार हात पारेर ।
पुरिएर थुप्रो हीरा–मोतीले,
जीन्दगीमा आखिर मृत्युदेखि हारेर ।

बरु नचिनोस् मलाई कसैले
म के खान्छु, म के पिउँछु भनेर ।
कहाँ जान्छु, किन जान्छु ?
म किन यस्तो झुत्रो देखिन्छु भनेर ।
बरु नदेखोस मलाई कसैले,
नखोजोस मलाई कसैले ।
म त चाहन्न मान–सम्मानका खदाहरु
धार्मिकताको वस्त्रलाई मैलो पारेर ।
चर्चाको शिखरमा डुल्दा–डुल्दै
अनन्त जीवनलाई गुमाएर ।

बरु म कमजोर नै भइरहुँ
अरुले निरीह नै देखिरहुन्
सोझो, लाटो, मुर्ख नै सम्झुन्
कि म सजिलै मलाई–
वारपार छेड्ने मित्रहरुलाई माफ गर्न सकुँ ।
तर म हावामा मुक्का हानिराखेको छुइँन ।
जीन्दगीको यो यात्रामा–
अँध्यारोमा एक्लै दौडिराखेको छुइँन ।
म निशानातिर अघि बढिरहेछु,
मैले गन्तव्यतिरको बाटोमा पाइला चालिरहेछु ।

बरु मसँग केही पनि नहोस्
तर महिमित शरीरमा
तुरहीको आवाजसँगै झस्किएर बिउँझिँदा
मसँग अनन्त जीवनको चाँबी होस् ।

(Suman Java, Itahari, 2014)
Facebook Comments