संसारिक सुखको कुहिरोमा हराएको प्रेम

संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।

दाजुभाई, साथीभाई र इष्टमित्रहरुबिचको प्रेम भन्दा मायालु जोडीहरु र श्रीमान–श्रीमतिहरुबिचको प्रेम सबभन्दा संवेदनशील र नाजुक हुन्छ । मस्तिष्क–मन्थनको लागि यहाँ केही प्रश्नहरुलाई लिन सकिन्छ । मैदानमा फुटबल खेलिरहेको खेलाडीले दर्शकदीर्घामा आफ्नी प्रेमिका कसैसँग चुम्बन गर्नमा मस्त देख्यो भने के उसले खेल अवधिभर राम्रो प्रदर्शन गर्नसक्छ ? नर्स पेशा भएकी श्रीमति हुनेले बेलुकाको खानापछि आफू नानीहरुलाई स्याहार्दै रातको समयमा ड्यूटी जानलाई अर्कैसँग बाइकमा पठाउँदा उक्त श्रीमानले कस्तो महशुस गर्नेछ ? एकै हलमा परीक्षा दिइरहेका प्रेमी–प्रेमिकाहरुमध्ये प्रेमिका अर्कै केटाको छेऊमा प¥यो र ऊसँग जिस्किँदै, हाँस्दै, लेख्दै गर्दा के पल्लो कुनामा बसेको प्रेमीले आरामसाथ परीक्षा दिन पायो होला ? यी प्रश्नहरुको उत्तर तपाई हाम्रै मनमा छन् । शंका गर्नुहुँदैन भन्ने तर्क एकातिर होला तर यस्ता स–साना कुराहरुले नै हामीलाई कमजोर बनाउँछन् ।

प्रेममा समर्पणता हुनुपर्छ । तर हिजोआजका प्रेम सम्बन्धमा समर्पणता भन्ने कुरो गर्नै नसकिने व्यबहारझैँ चुनौतिको रुपमा खडा भएको छ । एउटा दृष्टान्त यहाँ राखूँः तल्लो घरको दाई आफ्नो प्रेमिकासँग आज भेट्दा हुनेवाला भाउजू बोल्न पनि नमानेर तर्किन खोजिन् । दाई दगुर्दै गएर बाटो छेके । उहाँको प्रेमिकाले झर्किँदै दाईलाई पन्साएर आफ्नो बाटो लागिन् । किन यस्तो भयो भन्ने रहस्य खोज्दै जाँदा यो पत्ता लाग्यो कि अस्तिमात्र पल्टनबाट छुट्टीमा घर आएको डाँडाघरे साइँलाको छोरासँग हुनेवाला भाउजु; हिजो पँधेरामा इत्रिँदै खुब गफ गरेछन् ।

एकपटक एकजना साथीले ‘आफू लाहुरे नहुँदा आफ्नो प्रेम टुङ्गोमा नपुगेको’ कुरा फेसबुकमा स्टाटस राखेर व्यक्त गरे । यहाँ कोही राम्रो जागिर नपाउँदा र राम्रो आर्थिक स्रोत नहुँदा आफ्नो प्रेमिका गुमाउनुपरेको छ । म एउटा साथीलाई चिन्दछु; जसले आफ्नी प्रेमिकालाई एक गम्भीर खालको रोग भएको थाहा पाएपछि आफ्नो दुई वर्षसम्म चलेको सुमधुर प्रेमलाई अन्त्य गरिदिए । कतिपय अवस्थामा यस्ता परिस्थितिहरुलाई भविष्यको कुरासँग दाँजेर राम्रै गरेको भन्ने विश्लेषण पनि गरिन्छ । तर एकअर्कालाई प्रेम गर्नुको अर्थ त यस्तो होइन नि ! यस्तो प्रकारका विछोडहरुमा संसारिक सुखको नशाको गन्ध भेटिन्छ ।

सोह्र वर्षे लाली जोवनको आसपास केटीहरुलाई सायद जीवनसाथी छान्ने मौका थुप्रै हुन्छ । यताबाट नि प्रोपोज आयो; उताबाट पनि आयो भन्दै केटीहरु मजाक गर्छन्, रमाउँछन् । यो एकप्रकारको उमेर नै होला । केटाहरु पनि थुप्रै केटीहरुको पछि लागेर, लगाएर कान्तिबिजोग भएका छन् । आफैँले आफैँलाई समस्याको खाडलमा जाकेका छन् । मैले सबै तरुण–तरुनीहरुलाई इंगित गर्न खोजको होइन, तर जो जससँग सम्बन्धित छ । यस्तो प्रकारको छानी–छानी लाएको मायामा स्वार्थ लुकेको हुन्छ ।

फगत एकअर्कामा आकर्षणको कारणले सुरुभएको प्रेमले समस्या बाहेक अरु केही निम्त्याउँदैन । यस्तो प्रेमले युवायुवतीहरुलाई चाहिने भन्दा बढी नजिक ल्याउँदो रहेछ । यसैले कसै–कसैलाई हतारमा विवाह गर्नुपरेको छ । हतारमा विवाह गरेर पनि खै के नै लुक्छ र ? बढीमा पनि विवाह भएको छैँटो महिनामा नानी पाएपछि । लगभग ९ वर्ष अघि एकजना स्कूल पढ्दाको साथीलाई हतारमा विहे गर्नुपर्ने बाध्यता आइलागेछ । चाँजोपाजो मिलाएर धुमधामसाथ विवाह हुने भयो । तर विवाहको दिन दुईजना दुलही भित्र्याउनुप¥यो । कारण साथीकै तर्फबाट अर्की दुलही पनि छैँटौ महिनातिर नानी पाउन तयार रहेको कुरा गाउँ–समाजमा बसेको आकस्मिक बैठकले निर्णय ग¥यो ।

म सानै हुँदा गाऊँमा प्रा.वि. स्कूल पढाउने एक लक्का जवान शिक्षकलाई गाउँका बुज्रुकहरुले वैठक राखेर एकहप्ता भित्रमा तीनजना अविवाहित केटीहरु र दुईजना विदेश गएकाहरुको श्रीमति सहित पाँचजनालाई श्रीमतिको रुपमा हस्तान्तरण गरियो । उनले पनि सहर्ष सबैलाई स्वीकारे । पछि बुझेँ; उक्त शिक्षक ‘मल्टीलभ’मा परेको र प्रेमिकाहरुसँग चाहिनेभन्दा बढी नजिक भएको कारणले त्यस्तो दिनको सामना गर्नुपरेको रहेछ ।

आजभोली यस्ता समस्याहरुको रोकथामको लागि आधुनिक उपकरणहरु होलान्, तर पनि एच.आई.भी संक्रमण र अनिच्छित गर्भधारणको जोखिम जिरो प्रतिशतमा कहिल्यै आउनेवाला छैन ।

हामीहरु कतिपय हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने प्रवृत्तिका छौँ । संसारिक सुख र शारिरीक आकर्षणबाट सुरुभएको थुप्रै प्रेमको कहानीहरु आखिरमा हस्पिटलमा गर्भपतन गरेसँग–सँगै समाप्त भएको छ । यो समस्याबाट पर भाग्ने छोटो बाटो त होला र कुकृत्यको ढाकछोप हुँदा केही आनन्द त होला; तर जीवनभरि झस्काइरहने एउटा तितो इतिहास बोकेर मानिसहरु बाँचिरहेछन् । जहाँबाट प्रेमको साटो घृणाको सुरुवात हुन्छ । प्रायः मेडिकल क्लिनिकहरु भ्रुणहत्या (शिशुहत्या) गर्ने वधशालाहरु हुन् भन्दा फरक नपर्ला ।

आजभोली हाम्रो समाजमा प्रेममा इमान्दारिता हराउँदै गएको छ । सबैलाई नभनौँ; तर विदेशिएका थुप्रै पुरुषहरु र उनीहरुका श्रीमतिहरुले आफ्नो वैवाहिक करारलाई तोडेका छन् । कति पुरुषहरु उतै अर्को वेश्यासँग भुलेर उतै हराएका छन्; यता कति महिलाहरुको आफ्नो नाठोसँगको रोमान्स लेखेर लेखिनसक्नु छ । मानिसहरु किन यत्रो विघ्न स्वार्थी हुँदैछन् ? एक–अर्काले बाटो बिराएर एक–अर्काको झाँको झार्दा नाबालक छोरा–छोरीहरुको हरिबिजोग हुने कुरा सोच्नुपर्छ कि पर्दैन ?

पुरुषहरु (महिलाहरु पनि) विदेशिनुको कारण थुप्रै रहर अनि वाध्यताहरु अवश्य पनि छन् । एक वाक्यमा भन्नुपर्दा यो सबै संसारको सुखको खोजीले निम्त्याएको परिस्थिति हो । तर यही मौकामा एक–दुई पैसा कमाउँदैमा मानिसहरुको खुट्टा भुइँमा छैन । कति महिलाहरुको जोवन ढल्किसक्दा र नानीहरु कलेज पढ्ने भइसक्दा पनि बाबाहरु विदेशबाट फर्केका छैनन् । कति बाबाहरु विदेशबाट घर फर्किँदा घरमा श्रीमति हुुँदैन…..सबै लठिभद्र…..। यसरी आज मानिसहरु माथि कहिल्यै उठ्नै नसक्ने गरि एक–अर्कालाई चोट र आँशुको सागरमा डुबाएका छन् ।

यहाँ प्रेमीको कारणले प्रेमिकाहरु धुरुधुरु रोएका छन् । प्रेमिकाको कारणले प्रेमीहरुको मन टुक्रिएको छ । श्रीमानको कारणले श्रीमतिहरु बाँच्नुको अर्थ गुमाएका छन् । श्रीमतिहरुको कारणले श्रीमानहरु कंगाल भएका छन् । माता–पिताहरु टुक्रिएको देख्दा छोराछोरीहरुको मन पनि भाँचिएको छ । जति गल्ती गरेपनि मानिस आफूले राम्रै गरेको ठान्छ । सायद अति थोरैले एक–अर्कालाई माफ दिन सक्लान् । नत्र एक–अर्कालाई दिएको चोटले घृणा उत्पन्न गराउँछ अनि घृणाले प्रतिशोधको भावना उब्जाईदिन्छ ।

यिनै कारणहरुले आजभोली मानिसहरु अति क्रुर बनेका छन् । आफ्नो आत्मसंयम गुमाएका छन् । हुनसक्नेसम्मको कठोर भएका छन् । यो उनीहरुको बाहिरी व्यवहारमा पनि प्रस्तुत भइराखेको हुन्छ । प्रेम सम्बन्धमा इमान्दिारिता नहुँदा अनमोल मानवीय सम्बन्धहरु मूल्यहीन भएका छन् ।

समाजको वर्तमान स्वरुप दिनानुदिन कुरुप बन्दैछ । भौतिक सुख–सुविधाको लागि मानिसहरु चारैतिर भौँतारिरहेका छन् । संसारिक सुखको कुहिरोमा प्रेम विलिन हुँदै गइरहेको छ । मानिसहरुले आफ्नो आदर्श गुमाइराखेका छन् ।

एकबारको जुनी सम्झेर सबैथोक गर्ने बेला यतिखेर नै हो भनेर सत्तालत्ता छोड्नुअघि हरेकले एकपटक ठण्डा दिमागले सोचौँ । हामीले अहिले प्रस्तुत गरिरहेका क्रियाकलापहरुले पुस्तौँसम्मको समयको कुनै न कुनै तार अवश्य हिर्काइरहनेछ भन्ने कुरा भुल्नुहुँदैन । यसरी हाम्रो जीवनको क्षणभङ्गुरता र यसको असरको अनन्ततालाई सोचेर जिउनुपर्छ । जीवन छोटो छ; कसैको लागि लामो होला । तर के ८० वर्ष पुगेको मृत्युशैयामा पल्टेको वृद्ध मानिसले ‘मैले लामो जीवन बाँचे भन्ला र ?’ यसैले सकेसम्म यो छोटो जीवनको कथा सुन्दर शब्द अनि अक्षरहरुले भर्नुपर्छ । यसैले प्रेमको दियो निभ्न नदिऔँ । विवाहितहरुले आफ्नो वैवाहिक करारलाई तोडिन नदिनुहोस् ।

केही बाइबलको कुरा यहाँ जस्ताको तस्तै राखेर अन्त्य गर्न चाहन्छु; जुन वचनले आफैँले हामीलाई धेरै कुरा बताउनेछ । ‘‘….किनकी परमप्रभु तिमीहरु र तिमीहरुको जवानीपनकी स्वास्नीको बिचमा साक्षीको काम गर्दै हुनुहुन्छ, किनकी तिमीहरुले त्यससँगको विश्वास भँग ग¥यौ, यद्यपि तिनी तिम्री जीवनसाथी र वैवाहिक करारमा बाँधिएकी स्वास्नी हो । के परमप्रभुले तिनीहरुलाई एउटै बनाउनुभएको होइन र ? शरीर र आत्मामा तिनीहरु उहाँकै हुन् । अनि तिनीहरु किन एउटै हुन ? किनभने उहाँले इश्वरीय सन्तान खोज्दैहुनुहुन्थ्यो । यसैले तिमीहरु आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी स्वास्नीबिचको विश्वास भँग नगर । ‘सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु’ परमप्रभु परमेश्वर भन्नुहुन्छ…’’ –मलाकी २ः१४–१६) ।

भत्किँदै गएको संसारको प्रतिरुपमा एक असल उदाहरणीय जीवन जिउने मौका तपाईं–हामीले कुनै हालतमा गुमाउनुहुँदैन । ख्रीष्टको शक्तिमा हामी यो गर्न सक्नेछौँ ।

Facebook Comments