मेरो देशमा फूल फुलोस्

मेरो देश
सदोम र गमोरा जस्तै
स्वर्गबाट आगो वर्षिएर
भष्म पारिन योग्यको देश ।
जहाँ,
खरानीको बादल सँधै मास्तिर गइरहन्छ ।

यहाँ,
फूल फुल्न गाह्रो छ ।
कोपिला फक्रिन नपाउँदै
आफ्नो कुमारित्व गुमाउन बाध्य पारिन्छन् ।

यहाँ,
सत्य सगरमाथाबाट डुल्दै–डुल्दै
मधेशी फाँटमा आइपुग्दा पनि
खुट्टा राख्ने ठाऊँ नपाएर
फेरि आफ्नै ठाऊँमा फर्किन्छ ।

यहाँ,
रुख ढालिन्छन्
तर विरुवा रोपिँदैनन् ।
भित्ता र छानो भत्काइन्छन्,
र फेरि जग बसालिँदैनन् ।

यहाँ,
बग्ने पसिना
विश्वभरिमा नै सबभन्दा सस्तो छ ।
हामीलाई हाम्रो आयु लामो र कठीन लाग्छ,
किनकी,
हाम्रो समय सस्तो छ ।

यहाँ घाइते मान्छे छटपटाएको हेर्न
हजारौं मानिस एकैछिनमा भेला हुन्छन्,
तर, घाइतेलाई उठाउने कोही हुँदैनन् ।
यहीँ नै हो मेरा देश
जहाँ,
ट्रकलाई ब्याक गरेर मान्छे मारिन्छ ।

यहाँ,
बालबालिकाहरुको आशा टुटाइन्छ ।
वृद्ध–वृद्धाको लठ्ठी भँचाइन्छ ।
उनीहरुको वेदनाको करुण रुवाई
कसै–कसैलाई
मधुमासमा बज्ने प्रेमगीत जत्तिकै प्यारो छ ।

यहाँ,
सुँगुरको नाकमा सुनको नत्थ पहि¥याएझैँ,
हत्यारालाई सम्मानको खदा ओडाइदिँदा
कसको दिल हाँस्न सक्छ ?
अनि को रुँदैन ?

यहाँ,
मानिसहरु आमा–बुवालाई ठगेर
यो गल्ती होइन भन्छन् ।
आफ्नो छिमेकीलाई लुटेर भन्छन्–
‘मैले त ख्याल–ख्याल मात्र गरेको थिएँ ।’

मेरो देश सदोम र गमोराजस्तै
भएर पनि–
परमेश्वर आगो बर्षाउनदेखि थामिनुहुन्छ ।
अनि भित्र–भित्रै रुनुहुन्छ ।
किनकी यहाँ–
पक्कै दशजना भन्दा बढी नै धर्मीहरु छन् ।
अनि,
सामालाई उखेल्दा गहुँ पनि सँगै
उखेलिने कुरा उहाँ जान्नुहुन्छ ।
यसैले,
फसलको समयसम्म पर्खनुहुन्छ ।

म त्यो दिनको चाह गर्छु, जुन दिनहरुमा
बाघले घाँस खाओस् ।
सर्पले धुलो चाटोस् ।
ताकि,
बाघ र बाछो सँगै चरुन् ।
दुधे बालकले सर्पको दुलोमा हात हाल्न सकोस् ।

म अन्यायको सीमा तोक्न चाहन्न
बस् यति जान्दछु कि
अन्यायले कहीँ बास नपाओस्
बरु हरेक घरमा शान्तिले बास गरोस्
ताकि,
कसैको घरबाट बिदा हुँदै गर्दा
जुत्ताको धुलो ढोकामा टक्टक्याउनु नपरोस् ।

Facebook Comments