येशू उहाँको मृत्यु र बौरिउठाइको बीच कहाँ हुनुहुन्थ्यो ?

प्रभु येशू ख्रीष्टको मृत्यु भएको सम्झनामा ‘गुड फ्राइडे’ र उहाँको मृत्युबाट पुनरुत्थान भएको दिनको सम्झनामा ‘इष्टर सन्डे’ वर्षेनी धुमधामका साथमा मनाउँदै आएका छौँ । ‘गुड फ्राइडे’ र ‘इष्टर सन्डे’ उत्सवलाई मनाउँदै गर्दा के कसैको मनमा यो प्रश्न उठ्दैन होला र ? कि येशू उहाँको मृत्यु र बौरिउठाइको बीच कहाँ हुनुहुन्थ्यो ? के येशू आफ्नो मृत्यु र पुनरुत्थानको बीचमा नरकमा जानुभयो ?

कतिपयका लागि येशू उहाँको मृत्यु र बौरिउठाइको बीच कहाँ हुनुहुन्थ्यो भन्ने विषयमा कुनै चासो नै नहुन पनि सक्दछ, तर यदि तपाईं गम्भीर रुपमा बाइबल अध्ययन गर्ने व्याक्ति हो भने यस प्रश्नले तपाईंको मनमा धेरै उथलपुथल ल्याएको हुनुपर्छ । प्रष्ट पार्नुपर्ने पहिलो कुरा के हो भने जब हामी ‘येशू कहाँ हुनुहुन्थ्यो ?’ भनेर सोध्छौँ, तब यसले उहाँको आत्माको बारेमा जनाउँदछ । अवश्य पनि येशूको शरीर पुनरुत्थान नहुन्जेलसम्म चिहानमा लडिरहेको थियो । तर येशूको आत्मा चिहानमा थिएन । लुका २३ः४६ पदमा उल्लेख गरिएको छः ‘उच्च स्वरमा कराएर येशूले भन्नुभयो, हे पिता म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु, यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो ।’ त्यसपछि उहाँको आत्मा कहाँ गयो? बाइबलका विवरणहरुले के बताउँछ त?

प्रेरित २ः३१ अनुसार उहाँ न पाताल अर्थात चिहानमा छोडिनुभयो न त उहाँको शरीर नै कुह्यो । साधारण भाषामा चिहान भन्नाले ‘शिओल’ अर्थात ‘हेडिस’ भनेर बुझ्न सकिन्छ । यो यस्तो ठाऊँ हो जहाँ मृतकहरुका आत्मा बास गर्दछन्। जसलाई बाइबलमा ‘पाताल’ भनेर पनि सम्बोधन गरिएको पाउँछौँ । भजनसंग्रह १६ः१०–११ पदमा गरिएको भविष्यवाणी अनुसार पनि हेर्ने हो भने प्रभु येशू चिहानमा अर्थात मरेका मानिसहरु राखिने ठाउँमा लगिनुभएको भएता पनि उहाँलाई त्यहीँ छोडिएन । त्यसोभए येशूलाई किन मरेका मानिसहरुको आत्मा बस्ने ठाऊँमा लगियो त? सम्भवतः १ पत्रुस ३ः१९ खण्डले यसको जवाफ दिने प्रयास गर्दछ । जहाँ लेखिएको छः ..आत्मामा उहाँ जानुभयो र कैदमा परेका आत्माहरुलाई पनि प्रचार गर्नुभयो ।

ती आत्माहरु को थिए त ? भन्ने सवालमा १ पत्रुस ३ः२० खण्डलाई हेर्दा के बुझ्न सकिन्छ भने, ती आत्माहरु प्राचीनकालमा नूहको समयमा आज्ञापालन नगर्ने मानिसहरुका आत्माहरु थिए । तर यस सिद्धान्तमा ती आत्माहरु– आज्ञापालन नगर्ने ‘परमेश्वरका छोराहरु’, जो मानिसका छोरीहरुसँग विवाह गरेकाहरु हुन् या त जलप्रलयमा नूहको परिवार बाहेक मरेका सम्पूर्ण मानिसहरु आत्मा हुन् ? एकिनका साथ भन्न गाह्रो छ ।

बाइबलमा अर्को रहस्यमय खण्ड छ, त्यो एफिसी ४ः८–१० । भजनसंग्रह ६८ः१८ मा पनि सोही कुरा वर्णन गरिएको छ कि ‘उहाँ उच्चमा चढिजानु हुँदा कैदीहरुलाई बन्दी बनाएर लानुभयो ।’ ती कैदीहरु को थिए ? धेरैजसो बाइबल विद्वानहरु के तर्क गर्छन् भने येशूको मृत्यु हुनुपूर्व मृत्यु भएका धर्मीजनहरुको आत्मा ‘शिओल’ वा ‘हेडिस’ मा राखिएका थिए, अनि तिनीहरुको पापको प्रायश्चित गरिएको थिएन जसको कारणले उनीहरुलाई स्वर्गमा अनुमति दिइएन । एकचोटी येशूको प्रायश्चितको बलिदान तिनीहरुमा लागू भएपछि तिनीहरुलाई स्वर्गमा प्रवेश दिइयो अर्थात येशूले तिनीहरुलाई त्यहाँ लैजानुभयो ।

यसकारणले सहज रुपमा बुझ्नका लागि हामी के भन्न सक्छौँ भने उहाँ अर्थात् येशू आफ्नो मृत्यु र पुनरुत्थानको बीचमा केही समयको ‘हेडिस’मा हुनुहुन्थ्यो, जहाँ येशूको मृत्यु भन्दा अघि मरेका मानिसहरुको आत्मालाई प्रचार गर्नुभयो र मरेका धार्मिक मानिसहरुका आत्मा सबैलाई मुक्त गरी तिनीहरुलाई स्वर्गमा लैजानुभयो । यद्यपी, यकिनका साथ ती आत्माहरुको बारेमा बाइबलले स्पष्ट पारेको छैन ।

अन्तमा, यस्तो देखिन्छ कि ‘मृत्यु र पुनरुत्थानको बिचमा येशू कहाँ हुनुहुन्थ्यो ?’ भन्ने बारेमा विस्तृत विवरण बाइबलमा समेटिएको छैन । अर्को अर्थमा यो प्रश्न उहाँको ‘मृत्यु’ र ‘पुनरुत्थान’ को तुलनामा त्यति महत्वपूर्ण छैन । त्यसैले यस्ता मुद्धाहरुमा नटुङ्गिने बहसहरु गरेर समय खर्च गर्नुको कुनै फाइदा छैन । हाम्रो मुख्य मुद्धा भनेकै येशूको बलिदान र पुनरुत्थान हो, जुन पर्याप्त छ । उहाँ हाम्रो पापको लागि मर्नुभयो, मृत्युलाई जितेर चिहानबाट पुनः पुनरुत्थान हुनुभयो । उहाँको पूर्ण बलिदान र बौरिउठाइले उहाँमाथि विश्वास गर्नेहरु सबै बाँच्नेछन् । जसरी येशूले भन्नुभएको छः पुनरुत्थान र जीवन म नै हुँ, ममा कोही मानिस म¥यो भने पनि ऊ फेरि जिवित हुनेछ ।

लेखन तथा सम्पादनः सुमन राई
(एस माइकल हडम्यानद्वारा लिखित ‘ह्वेर वाज जिजस बिट्वीन हिज डेथ एण्ड रिजरेक्सन’मा आधारित)

Facebook Comments