साँच्चै परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाउने ?

प्रभु येशूको पुनरुत्थान पछि बाइबलमा एउटा घतलाग्दो घट्ना छ प्रभु येशू र चेला थोमाको बारेमा । येशूको पुनरुत्थान माथि थोमा शंका गर्दछन् र भन्छन्– ‘जबसम्म म उहाँका हातमा कीलाहरुका डोब देख्दिन, र कीलाहरुका डोबमा मेरो औँला हाल्दिनँ, उहाँको कोखामा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्नेछैनँ ।’ त्यसको आठ दिन पछि अन्य चेलाहरुसँगै प्रभू येशू थोमाको अगाडि प्रकट भई भन्नुहुन्छः ‘तिम्रो औँला यहाँ राख, र मेरा हातहरु हेर । तिम्रो हात बढाएर मेरो कोखामा हाल । शंका नगर, तर विश्वासी होऊ ।’ त्यसपछि थोमाले येशूको पुनरुत्थानमाथि विश्वास गर्छन् । अनि प्रभुले येशूले फेरी भन्नुभयो–‘तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ ? धन्य हुन् तिनीहरु, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन् ।’

त्यो धन्यको मानिस तपाईं हामी पनि हौँ, किनकि हामीले पनि परमेश्वरलाई प्रत्यक्ष आमनेसामने नदेखेपनि उहाँमाथि विश्वास गरेका छौँ । कहिलेकाँही परमेश्वरको वास्तविकतामा माथि जोकोहीलाई शंका हुनसक्छ, के साँच्चै परमेश्वर वास्तविक हुनुहुन्छ ? साँच्चै परमेश्वर हुनुहुन्छ भनेर कसरी थाहा पाउने? आउनुहोस् आज हामी यस विषयमा चर्चा गर्नेछौँ ।

परमेश्वर वास्तविक हुनुहुन्छ भनेर हामी निश्चित हुन्छौँ, किनकि उहाँले हामीकहाँ ३ तरीकाहरुमा आफैँलाई प्रकट गर्नुभएको छ, ती हुन् ब्रम्हाण्डको सृष्टिमा, उहाँको वचनमा र उहाँको पुत्र–येशू ख्रीष्टमा ।

परमेश्वरको अस्तित्वको सबैभन्दा आधारभूत प्रमाण हो, उहाँले जे बनाउनुभएको छ । रोमी १ः२० मा लेखिएको छः ‘उहाँको अदृश्य गुण, अर्थात् उहाँका अनन्त शक्ति र इश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरुमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरुलाई कुनै किसिमको बहाना छैन ।’ त्यसरी नै भजनसँग्रह १९ः१ मा लेखिएको छः ‘आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारामण्डलले उहाँको हातको सीपको घोषणा गर्छ ।’

मानौँ हामीले कतै एउटा घडी भेट्टायौँ, अनि हामी यो आफै देखापरेको वा आफैँ अस्तित्वमा आएको हो भनेर कल्पना गर्न सक्दैनौँ । किनकि यसको आकार र बनावट हेर्दा कोहि डिजाइनरले यसलाई बनाएको हो भनेर हामी सोच्दछौँ । घडीको रचनासँग तुलना नै गर्न नमिल्ने हाम्रो वरपर संसारको रचनामा अझ धेरै डिजाइन र सबैकुरा सही छ । हाम्रो समयको मापन हातमा बाँधिएको घडीको कारणले होइन, यो त परमेश्वरको हातले बनाउनुभएको पृथ्वीको नियमित घुमाई र सोर्यमण्डलको गतिमा आधारित छ । यो ब्रम्हाण्डको महान बनावट र सुन्दरताले कोही महान डिजाइनर वा रचनाकारको अस्तित्व छ भनेर इँगित गर्छ, जुन रचनाकार परमेश्वर हुनुहुन्छ ।

परमेश्वरले जटिल र उत्तिकै राम्रोसँग व्यवस्थित भौतिक संसार मात्र बनाउनुभएको छैन, उहाँले हरेक व्यक्तिको हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । मानिसको आँखाले देखेको भौतिक जीवन जगतभन्दा पर अर्को जीवन वा जगत पनि रहेको छ भनेर मानिस जातिको जन्मजात धारणा रहेको छ । सबैले मृत्युपछि आत्माको शान्तिको कामना गरिरहेका हुन्छन् । हाम्रो हृदयको अनन्ततासम्मको भावना कम्तिमा दुई तरिकामा प्रकट हुन्छ, त्यो कानुन बनाउने र पूजा (भक्ति) गर्ने ।

इतिहासको हरेक सभ्यताले केहि नैतिक कानूनहरुको कदर गरेको छ, जुन संस्कृतिदेखि संस्कृतिमा आश्चर्यजनक रुपमा समान छन् । उदाहरणको लागि प्रेमको आदर्श विश्वव्यापी रुपमा सम्मान गरिएको छ, जबकि झूटको कार्यलाई विश्वव्यापी रुपमा निन्दा गरिएको छ । यो साझा नैतिकता ‘असल र खराबको विश्वव्यापी समझ’ ले एक सर्वोच्च नैतिक अस्तित्वलाई औँल्याउँछ, जसले हामीलाई असल र खराबको ज्ञान दिनुभयो ।

त्यसै गरी, संसारभरका मानिसहरुले जुनसुकै संस्कृतिमा जन्म लिएका भएपनि सबैले भक्ति गर्ने अर्थात आराधना गर्ने प्रणालीको अभ्यास गर्दै आइरहेका छन् । आराधनाको वस्तु फरक हुनसक्दछ, तर मानवीय विचार र शक्ति भन्दा माथि ‘उच्च शक्ति’को उपस्थिति पनि छ भन्ने मानवीय विश्वव्यापी भावनालाई इन्कार गर्न हामी सक्दैनौँ । यस विश्वयाव्यापी मान्यता अनुसार मानिसहरु जुनसुकै धर्मावलम्बीका भएता पनि उनीहरु सँधै आफूलाई सर्वोच्च शक्तिको उपासना गरिराखेको ठान्दछन् ।

परमेश्वरले आफ्नो वचन बाइबल मार्फत आफैंले हामीलाई प्रकट गर्नुभएको छ । सम्पूर्ण धर्मशास्त्रमा परमेश्वरको अस्तित्वलाई स्वयम्–प्रमाणित तथ्यको रुपमा लिइएको छ । उत्पत्ति १ अध्यायमा गरिएको सृष्टिको वर्णनमा परमेश्वरले आफ्नो वचनद्वारा यावत थोकहरुलाई सृष्टि गर्नुभयो । युहन्ना १ः१ ले बताउँछ, वचन नै परमेश्वर हुनुहुन्थ्यो । परमेश्वरले आफ्नो पुस्तक बाइबलमा यसकारणले अस्तित्वमा छु भनेर प्रमाणित गर्न धेरै कुरा भन्नुभएको छैन । परमेश्वरले मोशालाई भन्नुभयो– म हुँ, जो म हुँ । (प्रस्थान ३ः१४) । यसकारणले बाइबलको जीवन परिवर्तन गर्ने शक्ति, यसको इमान्दारीता, सत्यता र यसका लेखनको साथमा भएका आश्चर्यकर्मलाई नजिकबाट नियाल्दा परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्नका लागि पर्याप्त छ ।

तेश्रो तरिका, परमेश्वरले आफ्नो पुत्र प्रभु येशू ख्रीष्ट मार्फत आफैँलाई प्रकट गर्नुभएको छ । वचन कसरी देहधारी हुनुभयो भन्ने कुरा युहन्ना १ अध्याय अध्ययन गर्दा प्रष्ट हुन्छौँ । युहन्ना १ः१४ मा लेखिएको छः ‘अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।’

प्रभू येशूले आफ्नो अद्भुत जीवनकालमा उहाँको बारेमा पुरानो करारमा उल्लेख गरिएको सम्पूर्ण भविष्यवाणीहरु पूरा गर्नुभयो । उहाँले अनगिन्ती दया र सार्वजनिक रुपमा प्रवचन र चमत्कारहरुको प्रदर्शन गर्नुभयो । तपाईंहरु युहन्ना २१ः२४ पद पढ्नुहोला । उहाँलाई क्रुसमा टाँगिएको तीन दिनपछि उहाँ मृत्युबाट बौरी उठ्नुभयो, जुन सयौँ प्रत्यक्षदर्शीहरुले पुष्टि गरेका छन्, कृपया १ कोरिन्थी १५ः६ पढ्नुहोला । ऐतिहासिक तथ्यहरुले पनि प्रभु येशू को हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण दिँदछ । प्रेरित पावलले भनेजस्तै प्रभु येशूको जीवनमा घटेका घट्नाहरु कुनै गुपचुप ठाउँमा गरिएको थिएन ।

हामी जान्दछौँ कि हरेक मानिसको इश्वरको बारेमा आफ्नै धारणा छ र सोही अनुसार आफूले मानेको इश्वरको अस्तित्व प्रमाणित गर्ने हरसम्भव प्रयासहरु गर्दछ । यति हुँदाहुँदै पनि सँसारमा नास्तिकहरु पनि छन्, जसले परमेश्वरको अस्तित्वलाई स्वीकार गर्दैनन् । नास्तिकको बारेमा बाइबलले के बताउँछ भन्ने कुरा बुझ्न भजनसँग्रह १४ः१ पढ्नुहोला । उनीहरुलाई कुनै पनि प्रमाणले परमेश्वरको अस्तित्वको बारेमा बुझाउन सकिँदैन । तर हामी विश्वास गर्छौँ परमेश्वरको अस्तित्वलाई । विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ भनेर हिब्रूको पुस्तकले बताउँछ । इतिहासमा परमेश्वरमाथि गरिएको विश्वाद्वारा के के भए, भन्ने कुरा बुझ्न हिब्रु ११ अध्याय अध्ययन गर्नुहोला ।

लेखन तथा सम्पादनः सुमन राई

यस विषयमा तयार पारिएको भिडियो युट्युबमा हेर्न लिंक यहाँ दिइएको छः

Facebook Comments