बाइबलले विवाहविच्छेद र पुनर्विवाहको बारेमा के भन्छ ?

विवाहविच्छेद, जसलाई सम्बन्धविच्छेद वा पारपाचुके पनि भनिन्छ, यो शब्द आफैँमा विडम्बनापूर्ण छ, निराशजनक छ, दुःखद छ । गैह्र–इसाईहरु जस्तै इसाईहरुको पनि सम्बन्धविच्छेदको दर बढ्दो मात्रामा भइरहनु अत्यन्तै दुःखलाग्दो कुरा हो । ख्रीष्टिय जगमा खडा भएको वैवाहिक सम्बन्धहरुको अन्त्य हुनु, असफल हुनु आफैँमा खेदजनक छ ।

बाइबलीय दृष्टिकोणबाट भन्ने हो भने विवाहविच्छेद भन्दापनि पुनर्विवाहको सवाल अझ जटिल छ । मानिसहरु प्रश्न सोध्ने गर्छन्–‘के म यो कारणले वा त्यो कारणले विवाहविच्छेद गर्न सक्छु ?’ प्रश्नको अझ गहिराईमा जाने हो भने, उनीहरुको आशय हुन्छ–‘के म विवाहविच्छेद पछि पुनर्विवाह गर्न सक्छु ?’ दुःखको कुरा आफ्नो पति वा पत्नीलाई त्याग्ने र वैवाहिक वाचाबन्धनलाई तोड्ने सोचविचार विवाहविच्छेद वा पुनर्विवाहको लागि पर्याप्त छैन । यदि विवाहविच्छेद पछि पुनर्विवाह गर्ने अनुमति नै छैन भन्ने तर्कलाई अघि सार्ने हो भने विवाहविच्छेदको बारेमा कमैले मात्र सोच्नेछन् वा सोच्नेछैनन् पनि ।

जबकि, विवाहविच्छेदको बारेमा बाइबलले कडा रुपमा मनाही गरेको छ । मलाकी २ः१५–१६ खण्डमा लेखिएको छ–‘के परमप्रभुले तिनीहरुलाई एउटै बनाउनुभएको होइन र ? शरीर र आत्मामा तिनीहरु उहाँकै हुन् । अनि तिनीहरु किन एउटै हुन् ? किनभने उहाँले इश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो । यसैले तिमीहरु आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भँग नगर । परमप्रभु इस्रायलको परमेश्वर भन्नुहुन्छ– सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु ।’ मत्ती १९ः६ पदमा पनि प्रभु येशू भन्नुहुन्छ–‘…परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस् ।’ तर व्यवस्था २४ः१–४ खण्डमा हे¥यौँ भने बाइबलले विवाहविच्छेदको लागि अनुमति दिएको जस्तो बुझिन्छ । नयाँ करारलाई विचार गर्ने हो भने मत्ती १९ः९ पद अनुसार ‘व्यभिचारको कारणले बाहेक विवाहविच्छेद गर्न मनाही छ । नत्रभने त्यो व्यभिचार हुन्छ’, र हामी सबैलाई थाहा भएको कुरा हो कि व्यभिचार डरलाग्दो पाप हो ।

यद्यपि केही परिस्थितिहरुहरुमा विवाहविच्छेदलाई अनुमति दिइएको कुरा बाइबलमा पाउँछौँ । मत्ती १९ः९ पदअनुसार पति वा पत्नी कुनै एक व्यभिचारमा फसेको अवस्था हो भने विवाहविच्छेदको लागि अनुमति छ, र १ कोरिन्थी ७ः१५ अनुसार अर्को अवस्था हो– यदि पति वा पत्नीमध्ये कुनै एक अविश्वासी हो र ऊ छुट्टिन चाहन्छ भने विवाहविच्छेद गर्न सक्छन् । अवश्य पनि परिस्थितिहरुको कारणले मात्र विवाहविच्छेद गर्नु असल होइन । तरपनि, धेरै बाइबल विद्वानहरुको के निष्कर्ष छ भने– ‘व्यभिचार’ वा ‘त्यागिएको’ अवस्थामा सम्बन्धविच्छेद पछि पुनर्विवाह गर्न अनुमति छ । अर्को कुरा, यदि मृत्युको कारणले कुनै स्त्री वा पुरुष एक्लिएको छ भने उसले सुहाउँदो जोडी खोजेर पुनर्विवाह गर्न सक्ने अनुमति बाइबलले दिएको छ ।

यसकारण उचित सल्लाह के हो भने, तपाईंले विवाहविच्छेद वा पुनर्विवाहको बारेमा सोच्ने नै किन ? आफ्नो बाचाबन्धनमा अडिग रहनुहोस् । पवित्र मानवीय सम्बन्धलाई नत्याग्ने निष्ठावान पुरुष वा स्त्रीको रुपमा आफैँलाई प्रमाणित गर्नुहोस् । सँसारको अघि तपाईंको कारणले परमेश्वरको नाऊँलाई निन्दा हुन किन दिने ? आफ्नो छोराछोरीलाई विवाहविच्छेदको पीडा अनुभव गर्न नदिनुहोस् । आफ्नो आमाबुवालाई विवाहविच्छेदको पीडाबाट बचाउनुहोस् । आफैँलाई पनि विवाहविच्छेदको चोटबाट टाढा राख्नुहोस् । जसरी बाइबलमा वैवाहिक सम्बन्धलाई ख्रीष्ट र मण्डलीबिचको सम्बन्धको रुपमा महानतम् रहस्यको रुपमा व्याख्या गरिएको छ, यस्तो महिमामय सम्बन्धलाई तपाईंको कारणले नाश हुन नदिनुहोस् । एकअर्कालाई क्षमा दिनुहोस् तर नत्याग्नुहोस् । पवित्र वैवाहिक सम्बन्धको निर्माण गर्नुहोस्, तर नभत्काउनुहोस् । एकअर्कालाई माया गर्नुहोस् तर नछोड्नुहोस् ।

तरैपनि कतिपय मानिसहरुले वैवाहिक सम्बन्धलाई बचाउनको लागि हरसम्भव प्रयास गरेतापनि धेरै विवाहहरु पारपाचुकेमा गएर टुङ्गिएको छ । कुनै श्रीमान् वा श्रीमती विवाहविच्छेदको लागि कटिबद्ध भएर अगाडि बढ्यो भने उसको जोडीको के जोड चल्न सक्छ र ? जसको अन्तिम परिणाम भनेको विवाहविच्छेद नै हो । एउटा भनाई यस्तो पनि छ–‘मायाले संसार थाम्दैन ।’ हामीले देख्दै आएको कुराहरु के हुन् भने कतिपय मानिसहरुको वैवाहिक सम्बन्ध चोटै–चोट र पीडा नै पीडाले भरिएको छ–आत्मिक रुपमा, भावनात्मक रुपमा र शारीरिक रुपमा ।

यसैले बुझ्नुपर्ने कुरा के हो भने– ‘विवाहविच्छेद वा पुनर्विवाहको अनुमति छैन’ भन्ने सिद्धान्त तिनीहरुको विरुद्धमा होइन, जसको श्रीमान् वा श्रीमती सँधै दुव्र्यबहार वा हिंसामा उत्रिन्छ, जो वैवाहिक सम्बन्धभन्दा बाहिर गएर व्यभिचार गर्दछ । तर यो सिद्धान्त तिनीहरुको विरुद्धमा हो, जो बिनाकारण विवाहविच्छेद गर्न चाहन्छन्, जो विवाहविच्छेदको कारण बन्दछन्, जो ‘सच्चा जीवनसाथी’ पाउने वहानामा वैवाहिक करारभन्दा बाहिर गएर अरुसँग प्रेममा फँस्दछन् । यस्तै बदमास मानिसहरुको लागि परमेश्वर भन्नुहुन्छ–‘सम्बन्ध विच्छेदको कुरालाई म घृणा गर्दछु, मानिसले आफैलाई आफ्नो वस्त्रलेझैँ अत्याचारलाई ढाक्ने कामलाई पनि म घृणा गर्दछु । यसैले आफूलाई आत्मामा स्वयम् रक्षा गर, र विश्वास भँग नगर (मलाकी २ः१६) ।

लेखन तथा सम्पादनः सुमन राई
(एस माइकल हडम्यानको लेख ‘ह्वाट डज द बाइबल से अबाउट डिभोर्स एण्ड रिम्यारिज’मा आधारित)

Facebook Comments