येशूको विषयमा कहिल्यै नसुनेकाहरुलाई के हुन्छ ? के उनीहरु नाश हुनेछन् ?

परमेश्वरप्रति सबै मानिसहरु उत्तरदायी हुनुपर्छ, चाहे तिनीहरुले उहाँको बारेमा सुनेका होउन् या नहोउन् । बाइबलले हामीलाई भन्दछ कि ‘उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र इश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरुमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरुलाई कुनै किसिमको बहाना छैन’ (रोमी १ः२०) । उपदेशक ३ः११ ले बताउँछ परमेश्वरले मानिसको हृदयमा अनन्तता राखिदिनुभएको छ, तर समस्या के हो भने मानिस जाति पापी छन् र हामी सबैले परमेश्वर हुनुहुन्छ भन्ने ज्ञानलाई इन्कार गर्दछौँ र उहाँको विरुद्धमा विद्रोह गर्दछौँ । बाइबलले बताउँछ–‘किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरुले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए । तर तिनीहरु आफ्ना हृदयमा बेकम्मा भए र तिनीहरुको मूर्ख मन अझ अँध्यारो भयो । बुद्धिमान छु भन्ने दाबी गरेता पनि तिनीहरु मूर्खै भए, र तिनीहरु विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरुका मूर्तिका रुपहरुसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे ।’ (रोमी १ः२१–२३)

वास्तवमा, केही मानिसहरुले परमेश्वरको विषयमा नसुनेका होइनन्, तर समस्या के हो भने तिनीहरुले परमेश्वरको बारेमा सुनेका र देखेका कुराहरुको इन्कार गर्ने गर्दछन् । परमेश्वरलाई खोज्नेहरुका लागि उहाँ टाढो हुनुहुन्न । व्यवस्था ४ः२९ ले घोषणा गर्दछ–‘यदि परमप्रभु तिमीहरुका परमेश्वरलाई तिमीहरुले खोज्यौ भने र तिमीहरुका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरुले उहाँलाई भेट्टाउनेछौ ।’ तर के गर्नु ? रोमी ३ः११ पदमा दुःखलाग्दो कुरा उल्लेख गरिएको छः बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन । मानिसहरुले प्रकृति र तिनीहरुको आफ्नै हृदयमा रहेको परमेश्वरको ज्ञानलाई इन्कार गर्छन् र त्यसको बदलामा तिनीहरु आफैँले बनाएका ‘इश्वरहरु’को पूजा गर्ने निर्णय गर्दछन् । यसैले ख्रीष्टको सुसमाचारलाई सुन्ने अवसर कहिल्यै पनि नपाएकाहरुलाई पनि परमेश्वरले नरकमा पठाउनुहुन्छ भन्ने आशयमा उहाँको क्रुरता झल्काउने बहस गर्नु नै मूर्खतापूर्ण छ । किनभने रोमी १ः२० पदमा उल्लेख गरिएजस्तै परमेश्वरले अघिबाटै प्रकट गर्नुभएको कुराको लागि हरेक मानिसहरु ‘परमेश्वर हुनुहुन्छ भन्ने ज्ञान’प्रति जिम्मेवार रहेका छन् । परमेश्वरप्रतिको ज्ञानलाई बेवास्ता गर्नेहरुको डरलाग्दो अवस्थाबारेमा रोमी १ः२४–३२ मा वर्णन गरिएको छ । यस्ता मानिसहरु मृत्युको योग्यको हुँदछन् भनेर बाइबलले बताउँछ ।

कहिल्यै पनि सुसमाचार नसुनेकाहरुको दुर्दशा वा सुदिनको बारेमा बहस गर्नुभन्दा पनि हामी ख्रीष्टियानहरुले हरेक मानिसले सुसमाचार सुन्न सकेको होउन् भनेर सक्दो कोशिस गर्नुपर्दछ । मत्ती २८ः१९–२० पदलाई हेर्ने हो भने पनि हाम्रो बोलावट भनेकै सुसमाचार फैलाउनका लागि हो । हामीले के कुरा बुझ्नुपर्दछ भने, सृष्टिमा प्रकट गरिएको परमेश्वरको ज्ञानलाई मानिसहरुले इन्कार गर्दछन्, यसैकारणले नै हामी येशू ख्रीष्टमार्फत परमेश्वरलाई मानिसहरुमाझ प्रकट गराउनलाई उत्साहित हुनु जरुरी छ । किनकी सत्य कुरा के हो भने, येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको स्वीकारद्वारा नै मानिसहरु आफ्ना पापबाट छुटकारा पाउन सक्दछन् र सदाको लागि परमेश्वरबाट टाढिने जोखिमबाट मुक्त हुनसक्दछन् ।

यसकारण फैसला यो हो कि, येशूमा नबाँचेकाहरुको लागि विनाश अर्थात नरकको दण्ड निश्चित छ । यदि हामी येशूको बारेमा नसुनेकाहरुले परमेश्वरबाट सजिलै क्षमा पाउँछन् भनेर अनुमान लगाउन थाल्यौँ भने यो एउटा भयानक समस्या हो । यदि येशूको सुसमाचार नसुनेकाहरुको पनि उद्धार हुन्छ भनेता हामीले यस्तो इच्छा र कामना गर्नुपर्ने हुन्छ, कि कसैले पनि सुसमाचार सुन्ने मौका नपाउन्, ताकि तिनीहरुले परमेश्वरबाट सजिलै क्षमा पाउन सकुन् । यस्तो तर्कले सुसमाचार प्रचारको सेवा र जिम्मेवारीलाई अनर्थ बनाइदिन्छ । हामीले प्रचार गरेको कुरा सुनेर कसैले इन्कार गर्छ र नरकको दण्डको योग्य बन्छ भने हामीले सुसमाचार प्रचार नगर्नु नै बेस होइन र ? किनभने यदि उसले सुसमाचार नै नसुनेको भए त बाँच्ने थियो नि ! तर बाइबलले बताउँछ–‘अनि परमेश्वरको राज्यको सुसमाचार सारा संसारमा सबै जातिहरुका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ’ (मत्ती २४ः१४) । यसकारण येशूमाथि विश्वास गरी आप्mना पापहरुबाट छुटकारा पाउनु बाहेक अर्को विकल्प मानव जातिलाई छैन ।

संकलन तथा सम्पादनः सुमन राई

Facebook Comments