नेपालको रामघाट चर्चभन्दा ९ वर्ष पूरानो लुथरन चर्चको इतिहास

प्रभु येशू सँधै गरीब तथा असहायको पक्ष लिनुहुन्छ । अब पालो हाम्रो आएको छ । यस लेखको उदेश्य पनि नेपालमा लुथरन मण्डली पहिलो हो भनेर प्रमाणित गर्ने कुनै उदेश्य नरहेको स्पष्ट पार्न चाहन्छु, यो मात्र इतिहासको पानामा लेख्न छुटेका दस्तावेजहरुको सानो अँश मात्रै हो ।

रंगेली नगरपालिका–२, लक्ष्मीपुर स्थित नेपाल सुसमाचारीयल लुथरन मण्डलीको आधुनिक भवन ।

पृष्ठभूमिः
हावाको गति झैँ, नदीको प्रवाह झैँ परमेश्वरको राज्य रोकेर रोकिँदैन । किनकी मत्ती २४ः१४ अनुसार परमेश्वरको राज्यको सुसमाचार सँसारका सबै जातिहरुमा पु¥याउनु परमेश्वरको योजना हो । नेपालमा इसाईहरुको इतिहास सत्रौँ शताब्दीदेखि सुरु भएको पाइन्छ । सर्वप्रथम सन् १६२८ मा इसाई मिशिनरीहरु नेपालमा प्रवेश गरेका थिए । तत्कालिन किर्तिपुरका राजा लक्ष्मीनरसिँह मल्लले पोर्चुगलका जेसुइट फादरहरुलाई काठमाडौँ उपत्यकामा सुसमाचार प्रचार गर्न पाउने अनुमति समेत दिएका थिए । सन् १६६१ मा राजा प्रताप मल्लको पालामा दुई मिशिनरी बेल्जियमका अल्बर्ट डी’ओरविल र अष्ट्रियाका जोहानन् ग्रुबर चीन–तिब्बत मिशनका लागि नेपाल आइपुगेका थिए । सत्रौँ शताब्दीमा सन् १७०७ फेब्रुअरी २१ मा इटालीको रोमबाट केपुचिन फादरहरु काठमाडांै आईपुगेका थिए । उनीहरुले आफ्नो मिशन कार्य भक्तपुर तथा पाटनमा पनि विस्तार गर्न थाले । उनीहरु नेपाल आइपुगेको ५३ वर्षपछि सन १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले ‘द एजम्प्सन अफ आवर लेडी’ नामको चर्च काठमाडौँमा उद्घाटन गरेका थिए ।

गोरखा राज्य विस्तारको क्रममा राजा पृथ्वी नारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ फेब्रुअरी ४ मा फादरहरु सहित ५७ जना इसाईहरुलाई देशनिकाला गरियो । किनकी उपत्यका जित्नु अगाडि तत्कालिन राजा जयप्रकाश मल्लले गोरखासँग लड्नका लागि इस्ट इन्डिया कम्पनीसँग सहयोग मागेका थिए, जसको कारणले पृथ्वी नारायण शाहले फादर तथा इसाईहरुप्रति शंका गरेका थिए । त्यसपछि १८१ वर्षसम्म नेपालमा सुसमाचारको ढोका बन्द रह्यो । तर राणाशासनको अन्त्यसँगै सन् १९५० मा प्रजातन्त्र आएपछि पुनः परमेश्वरको राज्यमा वृद्धि हुन थाल्यो। फलस्वरुप सन् १९५२ नोभेम्बर १७ बाट पोखरा रामघाटमा बाँसको टहरो बनाई इसाईहरुले संगति सुरु गरे, जसलाई नेपालको पहिलो मण्डली ‘पोखरा रामघाट मण्डली’ भनेर सबैले सुन्दै आएका छौँ ।

पहिलो मण्डली हुुनुपर्ने आधारहरु के के हुन् ?
मण्डली भवनलाई नै मण्डली भनेर बुझ्नु समस्या हो । बाइबल अनुसार खास मण्डली त तपाईं हामी हौँ । प्रभु येशूमाथि विश्वास गर्ने व्यक्ति वा मानिसहरुको समुह नै मण्डली हो । हाम्रो शरीर परमेश्वरको मन्दिर हो र उहाँको आत्मा हामीमा बास गर्नुहुन्छ । अर्थात हामी त्यो मण्डलीका अंगहरु हौँ जसको शिर प्रभु येशू हुनुहुन्छ (१ कोरिन्थी १२ः२७, रोमी १२ः५)। यसैले हामीले बनाएको भवनमा परमेश्वर बास गर्नुहुन्छ भन्ने कुरा भ्रम मात्र हो (प्रेरित ७ः४८, १ राजा ८ः२७)। यद्यपी हामीले सामुहिक संगति गर्न भेला हुनको लागि निश्चित ठाऊँ वा भवनको आवश्यकता पर्दछ । जहाँ विश्वासीहरु एकै मनको भएर परमेश्वरको उपस्थिती खोज्दछन् । दुई वा तीन जना मात्र उहाँको नाऊँमा भेला भइयो भने त्यहाँ येशूको उपस्थिति हुने प्रतिज्ञा बाइबलमा छ (मत्ती १८ः२० । यसकारण मण्डली भवन कुन पहिला स्थापित भयो, दोश्रोमा कुन भयो भन्ने कुराले परमेश्वरको राज्यमा खास अर्थ राख्दैन । तरैपनि इतिहासमा घटेका घटनाक्रमहरुलाई सही प्रकारले अभिलिखित गर्नको निम्ति केही सहयोग पुग्न सकोस भन्ने हेतुले मात्र यो लेख लेखिएको हो । मण्डली भवनलाई नै ‘मण्डली वा चर्च’ भनिने आम मानिसको बुझाई भएकोले यहाँ पनि चर्च भवनलाई ‘मण्डली वा चर्च’ मात्रै भनेर सम्बोधन गरिएको छ ।

यदि मण्डली भवन स्थापनाकै कुरा मात्र गर्ने हो भने त, सत्रौँ शताब्दीमा फादर ट्रान्क्विलियसद्वारा स्थापित ‘द एजम्प्सन अफ आवर लेडी’ चर्चलाई नै प्रथम किन नमान्ने ? नेपालीहरुकै दर्शनमा, अगुवाईमा वा पहलमा स्थापित मण्डलीको कुरा गर्ने हो भने पनि विदेशी ख्रीष्टियानहरुको दर्शन, मिशन वा सहयोग बिना सुरुवाती दिनमा मण्डली स्थापना हुनु सम्भव थियो र ? रामघाट मण्डली स्वयम् पनि यसबाट अछुतो छैन । यसकारण पहिलो मण्डली हुनको निम्ति के कस्तो मापदण्ड र आधारहरु हुनुपर्दछ ? भन्ने विषयमा घनिभूत छलफल र बहस गर्न अत्यन्तै आवश्यक रहेको छ । यस लेखको उदेश्य पनि नेपालमा लुथरन मण्डली पहिलो हो भनेर प्रमाणित गर्ने कुनै उदेश्य नरहेको स्पष्ट पार्न चाहन्छु, यो मात्र इतिहासको पानामा लेख्न छुटेका दस्तावेजहरुको सानो अँश मात्रै हो ।

नेपालमा लुथरन मण्डलीको इतिहासः
वर्ष २०१८ सेप्टेम्बर १४ का दिन रंगेली नगरपालिका, वार्ड नं. २ लक्ष्मीपुर स्थित नेपाल सुसमाचारीय लुथरन मण्डलीले आफ्नो स्थापनाकालको ७५ औँ वार्षिकोत्सव मनायो । उक्त वार्षिकोत्सव सभामा लुथरन विश्व फेडेरेसन–जेनेभाका महासचिव रेभ. मार्टिन युङ्गे, प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत नेपालका विभिन्न मण्डलीका अगुवा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यस वार्षिकोत्सव सभाको समापन पछि केही अगुवा प्रतिनिधिहरुले नेपालको मण्डली इतिहासको बारेमा थप बहस गर्न आवश्यक रहेको बताएका थिए ।

Link Source: https://www.facebook.com/himal.rai.180/posts/1584095505029291

लुथरन मण्डली इतिहासको बारेमा प्राप्त जानकारीहरुको आधारमा नेपाल सुसमाचारीय लुथरन मण्डलीको स्थापना सन् १९४३ जुलाई १८ मा भएको हो । तर महासचिव रेभ मार्टिन युङ्गेको नेपाल भ्रमणको तालिकासँग वार्षिकोत्सव कार्यक्रमलाई एकै समय पार्ने क्रममा सेप्टेम्बर १४ मा मनाइएको हो ।

सन् १९३६ मा झारखण्ड भारतबाट फागू मुर्मू नामका व्यक्ति कामको सिलसिलामा नेपाल आएका थिए । उनी एक गरीब परिवारका व्यक्ति थिए । उनी हालको मोरङ् जिल्लाको कानेपोखरी गाउँपालिका स्थित बिसनपुर–होक्लाबारीमा आएका थिए । होक्लाबारीका चुन्कू मुर्मू नामका व्यक्तिको घरमा नोकरको रुपमा फागू मुर्मू बस्दै आएका थिए । उनी एक इसाई थिए, तर सुसमाचार प्रचारको लागि मिशिनरीको रुपमा खटाइएका व्यक्ति थिएनन् । तत्कालिन समयमा जंगल फडानी गर्ने र खेती बसाउने काम पाइने भएकोले कामको सिलसिलामा उहाँ नेपाल आउनुभएको थियो ।

फागू मुर्मू इसाई भएको कारणले खाना खानु अगाडि, बिहानै उठेपछि र राति सुत्नु अगाडि नियमित प्रार्थना गर्ने गर्दथे। उसको यस्तो व्यवहारको बारेमा स्थानीय गाउँलेहरु अनभिज्ञ थिए । त्यो बेला स्थानीयबासीहरुले इसाईको बारेमा कहिल्यै केही सुनेका, बुझेका थिएनन् । उनको यस्तो व्यवहारप्रति गाउँलेहरुले जिज्ञासा राख्ने क्रममा विस्तारै फागू मुर्मूले प्रभु येशूमाथि उनले गरेको विश्वासको बारेमा अरुलाई बताउन थाले । उनी बिहानै उठेर रातभरि परमेश्वरले दिनुभएको आराम तथा सुरक्षाको निम्ति परमेश्वरलाई धन्यवाद चढाउँथे र राति सुत्नु अगाडि दिनभरि परमेश्वरले दैनिक काममा दिनुभएको सहायताको निम्ति धन्यवाद दिँदै राती सुरक्षाको निम्ति प्रार्थना गर्ने गर्दथे । इसाई भएको कारणले हप्तामा एकदिन शबाथ दिनको रुपमा आफ्नै परिवारसँग मिलेर संगति गर्थे ।

डा. एम.एम टुडू (विशप मुन्सी एम. टुडु) जसले ‘Some Remarkable Persons of the Northern Evangelical Lutheran Church’ पुस्तकको भाग १ र भाग २ लेख्नुभएको थियो, जसमा नेपालमा लुथरन मण्डलीको स्थापना, साथै नेपाल पठाइएका मिशिनरीहरुको बारेमा चर्चा गर्नुभएको छ ।

यसै सिलसिलामा फागू मुर्मूले प्रभू येशूबाट पाइने पापको क्षमा साथै शारीरिक चंगाईको बारेमा प्रचार गरे । संगतिको समयमा विरामी मानिसहरु प्रार्थनाको लागि आउँथे र प्रार्थना पछि निको भएर फर्केका मानिसहरु नियमित संगतिमा आउन थाले । सन् १९४२ सम्ममा येशूलाई विश्वास गर्ने स्थानीय सन्थाल जातिका मानिसहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई बप्तिस्मा दिनुपर्ने अवस्था आयो । फागू मुर्मू स्वयम् पाष्टरमा अभिषेक नभएका कारण उनले बप्तिस्माको कार्यक्रम संचालन गर्न सकेनन् । त्यसपछि यस विषयमा छलफल गर्न आफ्नो मण्डली सन् १९४२ अक्टोबर ३० मा झारखण्ड फर्के । झारखण्डको उक्त मण्डलीको नाम नर्देन इभान्जेलिकल लुथरन चर्च थियो ।

नेपालमा बप्तिस्मा कार्यक्रमको लागि नर्देन इभान्जेलिक चर्चले पाष्टर भोजे सोरेनलाई पठाउने निर्णय ग¥यो । यसरी पाष्टर भोजे सोरेनले मोरङ्गको होक्लाबारीस्थित बिसनपुरमा आएर नयाँ विश्वासीहरुलाई पानीको बप्तिस्मा दिए । सम्भवतः यो नेपालकै पहिलो बप्तिस्मा हुनसक्छ । उक्त बप्तिस्मा कार्यक्रमको मिति सन् १९४३ जुलाई १८ को दिन थियो । यहि मितिलाई नै नेपाल सुसमाचारीय लुथरन मण्डलीले आफ्नो आधिकारीक स्थापना मिति मान्दै आएको छ ।

सन् १९४३ जुलाई १८ मा बष्तिस्मा कार्यक्रम भएको भन्ने प्रमाण के छ त?
यस विषयमा खोज अनुसन्धान गर्दा प्रमुख दुई वटा प्रमाणहरु भेटिन्छन् । बप्तिस्मा कार्यक्रम पछि नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डले नेपालको लुथरन चर्चलाई छोरी मण्डलीको रुपमा रेखदेख गर्ने कार्य ग¥यो । नर्देन इभान्जेलिकल लुथरन चर्चले हरेक वर्ष पात्रो (पञ्जिका) प्रकाशन गर्दछ, जसमा लुथरन मण्डलीको विगतदेखि वर्तमान सम्म घटेका महत्वपूर्ण घटना तथा कार्यक्रमहरुको मिति उल्लेख गरिएको हुन्छ । जसमा नेपालमा पहिलो पटकको बप्तिस्मा कार्यक्रम सन् १९४३ जुलाई १८ भनेर उल्लेख गरिएको छ, यो नै पहिलो प्रमाण हो ।

नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डबाट वर्षेनी प्रकाशन हुने पात्रोको बाहिरी पाना र भित्री पाना, जसमा नेपालको पहिलो बप्तिष्मा कार्यक्रमको मिति उल्लेख गरिएको छ ।

दोश्रो प्रमाण, डा. एम.एम टुडू (विशप मुन्सी एम. टुडू) द्वारा लिखित पुस्तक ‘सम रिमार्केबल पर्सन्स अफ द नर्देन इभान्जेलिक लुथरन चर्च– भाग २’ मा नेपालमा पहिलो पटक भएको बप्तिस्मा कार्यक्रम तथा नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डबाट नेपालमा खटाईएका मिशिनरीहरुको बारेमा चर्चा गरिएको छ । डा. एम.एम टुडूको उक्त पुस्तकमा पनि नेपालमा लुथरन मिशनअन्तर्गत पहिलो पटक भएको बप्तिस्मा कार्यक्रमको मिति सन् १९४३ जुलाई १८ नै भनेर उल्लेख गरिएको छ । डा. एम.एम टुडू नर्देन इभान्जेलिकल लुथरन चर्चका प्रथम अभिषिक्त विशप थिए । साथै टुडूको पुस्तकमा सन्थाल मिशन मार्फत सन् १९४३ देखि सन् २००५ सम्म झारखण्डबाट नेपालमा आएर सेवकाई गरेका मिशिनरीहरुको बारेमा पनि वर्णन गरिएको छ ।

डा. एम.एम टुडूद्वारा लिखित Some Remarkable Persons of the Northern Evangelical Lutheran Church पुस्तकमा नेपालमा सन् १९४३ देखि सुरु भएको मण्डली तथा बप्तिस्माको बारेमा चर्चा गर्नुभएको छ ।

उक्त पात्रो तथा पुस्तकमा बप्तिस्मा कार्यक्रमको मिति आधिकारीक रुपमा उल्लेख गरिएको भएपनि कति जनाले बप्तिस्मा लिए भन्ने संख्या उल्लेख गरिएको छैन । यद्यपि, मण्डली स्थापना तथा बप्तिस्मा कार्यक्रमको लिखितम इतिहासलाई नकार्न सकिँदैन ।

नेपाल सुसमाचारीय लुथरन मण्डलीको वृत्तान्त– विगतदेखि वर्तमानः
सन् १९४३ जुलाई १८ को बप्तिस्मा कार्यक्रमसँगै नेपालको लुथरन मण्डलीको रेखदेख गर्ने जिम्मा नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डले पाष्टर भोजे सोरेनलाई दियो । तर दुःखको कुरा, पाष्टर भोजे सोरेन नेपालमा बस्न थाल्नुभएको महिना दिन बित्न नपाउँदै हैजाको प्रकोपको कारणले सन् १९४३ अगष्ट १५ मा उहाँको असामयिक निधन भयो । उहाँको निधन पश्चात मण्डलीको हेरविचार गर्ने जिम्मा पुनः फागू मुर्मूको काँधमा आयो । नर्देन इभान्जेलिकल लुथरन चर्चको छोरी मण्डलीको रुपमा स्थापना गरिएको कारणले नेपालको मण्डलीलाई ‘नर्देन इभान्जेलिकल लथुरन चर्च इन नेपाल’ भनेर नामाकरण गरिएको थियो ।

फागू मुर्मूको मृत्युपश्चात सन् १९५८ मा झारखण्डबाट पाष्टर होपना टुडूलाई नेपाल पठाइयो । पाष्टर होपना टुडू एक शिक्षक साथै धर्म विज्ञानका ज्ञाता थिए । उहाँले सन् १९५० देखि सन् १९५२ सम्म भारतमा शिक्षकको रुपमा काम गर्नुभएको थियो र सन् १९५४ देखि सन् १९५८ मा सन्थाल थियोलोजिकल सेमिनरी (कजेल)–दुम्काबाट चार वर्षे इश्वरशास्त्रको अध्ययन गर्नुभएको थियो । अध्ययनको समाप्ति लगत्तै उहाँलाई पाष्टरको रुपमा नेपाल पठाइएको थियो। नेपाल आउनुभएपछि मण्डलीमा पाष्टरीय सेवकाईको साथसाथै ट्युसन कक्षा पनि संचालन गर्नुभएको थियो । उहाँ बस्नुभएको बिसनपुर गाउँ वरपर अन्य गाउँबाट पनि उहाँकोमा शिक्षा लिन आउँथे । तत्कालिन समयमा बिसनपुरदेखि रंगेलीसम्म उहाँ चिरपरिचित व्यक्ति हुनुहुन्थ्यो । सरकारी निकायका प्रतिनिधिहरु, तत्कालिन गाउँपञ्चायत तथा थाना चौकीका पदाधिकारीहरुले विकास निर्माण लगायत विभिन्न सामाजिक समस्याहरुको समाधानका लागि पाष्टर होपना टुडूसँग सल्लाह–सुझाव लिने गर्दथे । यसरी सन् १९५८ देखि सन् १९६४ सम्म लुथरन मण्डलीको सेवकाई पाष्टर होपना टुडूको नेतृत्वमा अगाडि बढेको थियो ।

सन् १९६४ मा पाष्टर होपना टुडू भारत फर्केपछि सन् १९६६ सम्म नियमित रुपमा नेतृत्व गर्ने अभिषिक्त पाष्टरहरु लुथरन मण्डलीमा थिएनन् । तर पनि नर्देन इभान्जेलिकल चर्च–झारखण्डका पाष्टरहरुको नेपाल–भारत आऊजाऊ भइरहन्थ्यो । सन् १९६५ मा एल्डर जंगलाल सोरेनको बप्तिस्माको लागि नर्देन इभान्जेलिकल लुथरन चर्च झारखण्डबाट पाष्टर नेकोदेमस मर्डी आउनुभएको थियो ।

त्यसपछि सन् १९६६ मा पाष्टर सिलास हेम्ब्रमलाई नेपाल पठाइयो । उहाँको नेतृत्वमा लगभग दुई वर्ष लुथरन मण्डलीको सेवकाई अगाडि बढ्यो । यसै सिलसिलामा सन् १९६८ मे १४ मा झारखण्डबाट रेभ. डी.आर मुर्मू (डुगुक राइसेन मुर्मू) लाई पठाइयो । नेपालमा लुथरन मण्डलीको इतिहासमा उहाँको निकै लामो सेवकाई र योगदान रहेको थियो । आफ्नी श्रीमती रुथ मुर्मूसँगै सन् १९६८ देखि सन् २००५ सम्म ३७ वर्ष सम्म लुथरन मण्डलीमा पाष्टरीय सेवकाईमा रहेर परमेश्वरको काम गर्नुभयो।

सन् १९४७ मा भारतबाट पाकिस्तान अलग्गिएको केही वर्षपछि बँगलादेशमा देखापरेको द्वन्द्वको कारणले केही लुथरन सम्प्रदायका विश्वासीहरु झापा जिल्लामा आएर बसोबास गरेका थिए । रेभ डी.आर मुर्मूको सेवकाई अवधिमा सन् १९७८ देखि झापा जिल्लामा रहेका सन्थाल इसाई समुदायसँगको सम्बन्ध अझ सुदृढ भएर अगाडि बढेको थियो । उहाँले पनि पाष्टरीय सेवकाई बाहेक स्थानीय विद्यार्थीहरुलाई ट्युसन पढाउने काम गर्नुभयो । नेपालकै स्थानीय मण्डलीबाट अगुवाहरुको निर्माण हुनुपर्छ भन्ने विषयमा उहाँ सँधै सजग हुनुभयो र मण्डलीमा यस विषयमा पहल गरिरहनुभयो । नेपालको मण्डलीमा नेपालकै अगुवाहरुको नेतृत्व हुनुपर्ने दीर्घकालिन सोचको साथमा पाष्टर जेकब मुर्मूलाई दुम्का झारखण्डको सन्थाल थियोलोजिकल सेमिनरीमा चार वर्षे बाइबल अध्ययनको लागि पठाइएको थियो । सन् १९८२ देखि सन् १९८६ सम्मको बाइबल अध्ययन समापन गरेपछि जेकब मुर्मू नेपाल फर्कनुभयो र उहाँलाई पाष्टर अभिषेक गरियो । नेपालको लुथरन मण्डलीको इतिहासमा पाष्टर जेकब मुर्मू पहिलो अभिषिक्त स्थानीय पाष्टर हुनुहुन्थ्यो ।

स्वर्गीय पाष्टर जेकब मुर्मू तथा उहाँको परिवार ।

स्थानीय चर्चहरुमा डिकन तथा एल्डरहरु नियुक्त गरिएको थियो । ती मध्ये रुपई मरण्डी, छोटे मुर्मू, बाढा मुर्मू, कन्हु टुडू, मोसे मुर्मू, मँगल टुडू, लखीराम मुर्मू र जंगलाल सोरेनको मण्डलीको सेवकाई उल्लेखनीय सहयोग पु¥याउनु भएको थियो । हाल यी व्यक्तिहरुमध्ये एल्डर जंगलाल सोरेन मात्र जिवित हुनुहुन्छ । उहाँहरुले रेभ. डी.आर मुर्मू र पाष्टर जेकब मुर्मूलाई सेवकाईमा काँधमा काँध दिने काम गर्दै आउनुभएको थियो । झापा तथा मोरङ् जिल्लाको सन्थाल समुदायको बिचमा सुसमाचार प्रचार गर्दै मण्डलीको सुदृढीकरण गर्ने काम रेभ. डी.आर मुर्मू तथा पाष्टर जेकब मुर्मूको नेतृत्वकालमा सशक्त रुपमा भयो । स्थानीय जवानहरुलाई बाइबल तालिममा पठाउने र स्थानीय अगुवाहरुको निर्माण गर्ने विशेष काम यहि कार्यकालदेखि सुरुवात भएको थियो ।

यसरी परमेश्वरको सेवा गर्दै जाने क्रममा सन् १९९५ जुलाई ३ मा पाष्टर जेकब मुर्मू प्रभुमा सुत्नुभयो । उहाँले लगभग १० वर्ष लुथरन मण्डलीमा पाष्टरीय सेवकाई गर्नुभयो । सन् १९९४ मा रेभ. जोसेफ सोरेन तथा रेभ. सुजित सोरेन चार वर्षे बाइबल अध्ययनबाट फर्कनुभएपछि मण्डलीको सेवकाई अझ प्रभावकारी ढँगबाट संचालन हुन सम्भव भएको थियो । सन् १९९४ मा राष्ट्रिय मण्डली संगति नेपाल (एनसीएफएन)मा लुथरन मण्डली दर्ता भएपछि बल्ल लुथरन मण्डलीको बारेमा नेपालका अन्य मण्डलीहरुले पनि धेरथोर जान्ने मौका पाएका थिए ।

नेपाल सुसमाचारीय लुथरन मण्डलीको ७५औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै लुथरन विश्व फेडेरेसन–जेनेभाका महासचिव रेभ. मार्टिन युङ्गे, साथमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरे तथा माननीय लिलावल्लभ अधिकारी ।
नेपाल सुसमाचारीय लुथरन मण्डलीको ७५औँ वार्षिकोत्सव समारोहका सहभागीहरु ।
सन्थाल जातिय भेषभूषामा सजिएका कोयर झुण्डको समुह ।

लुथरन मण्डलीको समयरेखाः
विगतदेखि वर्तमानसम्म लुथरन मण्डलीको इतिहासलाई समयरेखामा यसरी प्रस्तुत गर्न सकिन्छ–
‣ सन् १९३६ः झारखण्डबाट फागू मुर्मू नामका व्यक्तिको नेपाल प्रवेश, उनी एक इसाई थिए,
‣ सन् १९४२ अक्टोबर ३०ः नेपालमा विश्वासीहरु बढेको र बप्तिस्मा कार्यक्रमको लागि सल्लाह गर्न झारखण्ड भारतको आफ्नो मण्डली नर्देन इभान्जेलिकल चर्चमा फर्कनुभयो,
‣ सन् १९४३ जुलाई १८ः झारखण्डबाट पठाइएका पाष्टर भोजे सोरेनको हातबाट होक्लाबारी–मोरङ्ममा पहिलो बप्तिस्मा कार्यक्रम,
‣ सन् १९४३ अगष्ट १५ः पाष्टर भोजे सोरेनको असामयिक निधन,
‣ सन् १९४३– सन् १९५८ सम्मः फागू मुर्मू तथा स्थानीय विश्वासीहरुकै नेतृत्वमा संगति संचालन,
‣ सन् १९५८– सन् १९६४ सम्मः नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डबाट पाष्टर होपना टुडूलाई पठाइयो र सन् १९६४ सम्म मण्डलीको नेतृत्व सम्हाल्नुभयो,
‣ सन् १९६४–सन् १९६६ सम्मः पाष्टर होपना टुडू भारत फर्कनुभएपछि लगभग दुई वर्षसम्म लुथरन मण्डली स्थानीय अगुवा कन्हु टुडूको नेतृत्व तथा सदस्यहरुबाट नै संगति संचालन भयो, तरपनि नर्देन इभान्जेलिक लुथरन चर्च झारखण्डबाट अभिषिक्त पाष्टरहरु नेपाल–भारत आउजाउ गरिरहन्थे,
‣ सन् १९६६–सन् १९६८ सम्मः नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डबाट पाष्टर सिलास हेम्ब्रमलाई पठाइयो र उहाँको नेतृत्वमा दुई वर्ष लुथरन मण्डलीको संगति संचालन भएको थियो,
सन् १९६८–सन् २००५ सम्मः सन् १९६८ मा रेभ. डी.आर मुर्मू र उहाँकी श्रीमति रुथ मुर्मूलाई नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डबाट नेपाल पठाइयो र उहाँहरु सन् २००५ सम्म नेपालमै बसी निकै लामो सेवकाई गर्नुभयो। उहाँहरुको लुथरन मण्डलीप्रतिको समर्पणता तथा योगदान अतुलनीय रहेको छ,

रेभ. डि.आर मुर्मू (डुगुक् राइसेन मुर्मू) बाँयाबाट दोश्रोे र उहाँकी श्रीमति रुथ मुर्मूृ । उहाँहरु सन् १९६८ देखि २००५ सम्म नेपालमा बसेर सेवकाई गर्नुभएको थियो ।

‣ सन् १९८६–सन् १९९५ सम्मः पाष्टर जेकब मर्मू बाइबल कलेजबाट फर्केपछि १० वर्षसम्म रेभ. डी.आर मुर्मूसँग मिलेर लुथरन मण्डलीको सेवकाईलाई अगाडि बढाउनुभएको थियो,
‣ सन् १९९४ मा रेभ. जोसेफ सोरेन तथा रेभ. सुजित सोरेन चार वर्षे बाइबल अध्ययन समापन गरि फर्केपछि मण्डलीमा सहयोगीको रुपमा अगाडि बढ्नुभयो,
‣ सन् १९९५ जुलाई ३ः लुथरन मण्डलीका प्रथम अभिषिक्त पाष्टर जेकब मुर्मूको निधन,
‣ सन् २००२ः रेभ. जोसेफ सोरेनलाई लुथरन मण्डलीको पाष्टरको रुपमा अभिषेक,
‣ सन् २००५ः रेभ. डी. आर मुर्मू तथा श्रीमति रुथ मुर्मूज्यूको नेपालको मिशन पूरा गरि झारखण्ड–भारत प्रस्थान,
‣ सन् २००५ देखि हालसम्मः नेपाल सुसमाचारीय लुथरन मण्डलीको प्रमुख नेतृत्वदायी भूमिका रेभ. जोसेफ सोरेनले निभाउँदै आउनुभएको छ ।

वर्तमान लुथरन मण्डलीको अवस्था अन्य निकायमा आबद्धताः
हाल नेपालको लुथरन मण्डलीलाई नेपाल सुसमाचारीय लुथरन मण्डली भनेर चिनिन्छ । सुरुदेखि नै ‘नर्देन इभान्जेलिकल लुथरन चर्च इन नेपाल’ भनिँदै आइएको भएपनि सन् २०१२ मा नेपाल सरकारको मातहतमा रहेको समाज कल्याण परिषदमा दर्ता हुने बेलादेखि नेपाल सुसमाचारीय लुथरन चर्च नामले चिनिँदै आएको छ । नेपाल सुसमाचारीय लुथरन मण्डली अन्तर्गत हालसम्म मोरङ् तथा झापा जिल्लामा जम्मा ११ वटा झुण्ड मण्डलीहरु रहेका छन्, जसमा ७ जना अभिषिक्त पाष्टरहरु र १२४० जना सदस्यहरु रहेका छन् । सन् २००३ मा आमा मण्डली नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्ड बाट अलग्गिएपछि हाल आफ्नै प्रकारले परमेश्वरको राज्य विस्तार गर्दै नेपाल सुसमाचारीय लुथरन मण्डली अगाडि बढिरहेको छ । भौगोलिक हिसाबमा फरक देश भएको कारणले सुरुवाती दिनदेखि नै नर्देन इभान्जेलिकल लुथरन चर्च–झारखण्डले नेपालको झुण्डमा स्थानीय अगुवाहरुबाट नै नेतृत्व होस् भन्ने चाहन्थ्यो ।

रेभ मार्टिन युङ्गेको नेपाल भ्रमणको बेला शनिबारको आराधना सँगतिपछि नेपाल सुसमाचारीय लुथरन मण्डलीका विश्वासीहरुको सामुहिक तस्वीर ।

सन् १९९४ मा राष्ट्रिय मण्डली संगति (एनसीएफएन) मा दर्ता भएको लुथरन मण्डली वर्तमानसम्म आईपुग्दा लुथरन विश्व फेडेरेसन–जेनेभा, नेपाल बाइबल सोसाईटी लगायत अन्य थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जालहरुमा आबद्ध भई परमेश्वरको सेवा कार्यलाई अगाडि बढाइरहेको छ । संक्षिप्तमा लुथरन मण्डलीको विभिन्न निकायमा संलग्नता तथा आबद्धता तल बुँदागत रुपमा प्रस्तुत गरिएको छ,
» सन् १९९४ः राष्ट्रिय मण्डली संगति (एनसीएफएन) मा दर्ता,
» सन् २००८ः युनाईटेड इभान्जेलिकल लुथरन चर्च–इन्डिया (UELCI) मा आबद्धता,
» सन् २००८ः फिन्निस इभान्जेलिकल लुथरन मिसन (FELM) मा आबद्धता,
» सन् २०१०ः लुथरन विश्व परिषद (Lutheran World Federation) मा आबद्धता,
» सन् २०१०ः लुथरन सामुदायिक कल्याण समाज (LCWS) को स्थापना तथा सामरी उत्थान सेवा (SUS) सँग सहकार्य गरि सामाजिक विकास कार्य सुरु,
» सन् २०१२ः समाज कल्याण परिषद नेपाल सरकारमा दर्ता, यहिँ दर्ता प्रकियादेखि नर्देन
इभान्जेलिकल लुथरन चर्च इन नेपालको सट्टामा नेपाल सुमाचारीय लुथरन मण्डली भनि नामाकरण गरिएको थियो ।

थप अन्य विभिन्न निकायहरुमा सदस्यताः
– नेपाल बाइबल सोसाइटी,
– ख्रीष्टियान समाज नेपाल,
– इन्टरफेथ फेडेरेसन,
– एक्ट एलाइन्स नेपाल फोरम (ACT Alliance Nepal Forum)
– स्थानीय (जिल्ला स्तरीय तथा प्रादेशिक इसाई समाज)हरुमा सदस्यता,

रेभ. डी.आर मुर्मू (दाँया) र रेभ. जोसेफ सोरेन ।

यसप्रकारले नेपाल सुसमाचारीय लुथरन मण्डली परमेश्वरको राज्य विस्तारमा अनवरत रुपले अगाडि बढिरहेको छ । सन् १९७८ मा एल्डर जंगलाल सोरेन र रेभ. डी.आर मुर्मूको पहलमा हालको रंगेलीनगरपालिका–२, लक्ष्मीपुरमा पनि झुण्ड मण्डली सुरु भयो । उक्त मण्डली भवनका लागि जंगलाल सोरेनले जग्गा उपलब्ध गराउनुभएको थियो । भवन निर्माण गर्दा माटोको भित्ता तथा छानामा माटोबाट बनेको टायल प्रयोग गरिएको थियो । त्यस अस्थायी भवनलाई भत्काई नजिकै सन् २००३ मा पक्की मण्डली भवनको निर्माण गरिएको थियो । सन् २०१३ मा उक्त भवनको दोश्रो तल्लाको पनि निर्माण गरि ‘मार्टिन लुथरन भवन’ नामाकरण गरियो । हाल भुइँतला (ग्राउण्ड फ्लोर)मा हरेक शनिबार आराधना संगति संचालन भइरहेको छ भने माथिल्लो तलामा मण्डलीको कार्यलय तथा अन्य संघ–संस्थाहरुको कार्यलयको रुपमा संचालन भइरहेको छ । पछिल्लो समय नेपाल सुसमाचारीय लुथरन मण्डलीको केन्द्रीय कार्यलय तथा सम्पर्क केन्द्रको रुपमा लक्ष्मीपुर झुण्डलाई नै स्थापित गरिएको छ ।

एल्डर जँगलाल सोरेन तथा उहाँको परिवार (माथि), उहाँको स्वर्गीय श्रीमति शिंगो हाँस्दा सोरेन (तल बाँया) ।

लुथरन मण्डली इतिहास बारे थप तथ्यहरुः
■ प्रविधिको पहुँच उहिलेको समयमा अहिलेको जस्तो नभएको कारणले निकै पूरानो तस्वीरहरु उपलब्ध छैनन् । लक्ष्मीपुर झुण्ड बाहेक अरु झुण्ड मण्डली भवनहरुमा अझै अस्थायी संरचना (माटोको भित्ता, फुसको छानो) रहेको छ । सन्थाल समुदायमा शिक्षाको कमीको कारण रेभ. डी.आर मुर्मूभन्दा अगाडिको बप्तिस्मा लिइएकाहरुको नामावली अभिलिखित रुपमा छैन । पूरानो सूचनाहरु आमा मण्डलीे नर्देन इभान्जेलिकल लुथरन चर्च झारखण्डमा हुन सक्ने अनुमान गरिएको छ ।
■ नेपाल सुसमाचारीय लुथरन मण्डलीमा केही घरपरिवार मुसहर (तराई दलित) बाहेक प्रायः सबै सन्थाल जातिका सदस्यहरु छन् । सन्थाल जाति भन्दा सुसमाचार बाहिर अन्य जातिमा पुग्न सकेको पाइँदैन ।
■ सन्थाल जातिलाई भारततिर सन्ताल (Santali) भनेर चिनिन्छ भने नेपालमा उनीहरुलाई ‘सतार’ भनेर पनि बोलाइन्छ । तर सतार शब्दप्रति उनीहरुको आपत्ति रहेको छ, यस शब्दले उनीहरुको आत्मसम्मानमा चोट पुग्ने गर्दछ, यसैले सम्बोधनको क्रममा सन्थाल वा सन्ताल भन्नुपर्दछ।
■ ‘सन्थाल’बाट ‘सन्थाली’ र ‘सन्ताल’बाट ‘सन्ताली’ शब्द आएको हो । सन्थाल जाति नेपालको जातिय वर्गीकरण अनुसार आदिवासी–जनजाति वर्गमा पर्दछन् । किनकी, उनीहरुको आफ्नै जातिय भेषभूषा, भाषा तथा संस्कृति रहेको छ । ९७ प्रतिशत सन्थालीहरु मातृभाषा बोल्दछन् ।
सन्थाल जातिहरु नेपालको एकदमै पिछडिएको वर्गमा पर्दछन् । नेपालको २०६८ सालको जनगणना अनुसार सन्थाल जातिहरुको जनसंख्या ५१७३५ रहेको छ । यस अर्थमा सन्थाल जाति अल्पसंख्यक समुहमा पनि पर्दछन् । कुल जनसंख्या मध्ये ५० हजार भन्दा बढी जनसंख्या प्रदेश नं. १ मा रहेको छ । शहरी क्षेत्रमा जम्मा १७३६ सन्थाल बस्छन् भने ग्रामीण भेगमा ४९९९९ सन्थालहरु बसोबास गर्दछन् ।

सन् २००४ को युवा सम्मेलनको एक झलक ।
पूरानो मण्डली भवनमा बाल सम्मेलनका सहभागीहरु ।

■ उच्च शिक्षा पूरा गरेका सन्थालहरु ०.३३ प्रतिशत मात्रै छन् । ९० प्रतिशत भन्दा बढी सन्थालहरु भूमिहीन छन् । दैनिक ज्याला मजदुरी र परम्परागत आधारभूत व्यवसाय नै उनीहरुको प्रमुख जिविकोपार्जनको माध्यम हो ।
■ राज्यको मुलधारबाट टाढा रहेको जाति भएको कारण विभिन्न राजनैतिक कालखण्डमा राज्यबाट सन्थाल जातिको विभिन्न सामाजिक आर्थिक सवालहरुमा चासो राखेको पाइँदैन । सोही कारणले पनि राणाकालमा लुथरन मण्डलीको सेवकाई आफ्नै प्रकारले चलिरह्यो । राजा महेन्द्रको पालाको पञ्चायती व्यवस्थाले पनि लुथरन मिशनलाई खासै केही प्रभाव पारेन ।
■ नेपाल सुसमाचारीय लुथरन मण्डलीमा आफ्नै भाषामा बाइबलहरु उपलब्ध छन्, आफ्नै भाषामा भजनहरु उपलब्ध छन् । संगति संचालनदेखि वचनसम्म सबैमा सन्थाली भाषाको प्रयोग हुन्छ । बाहिर अन्य मण्डलीबाट उनीहरुको संगतिमा सहभागी हुँदा अर्कै दुनियाँमा पुगेको आभाष हुन्छ ।
■ उनीहरुको संगतिमा आधुनिक बाजागाजा कमै प्रयोग हुन्छ, प्रायः परम्परागत मौलिक बाजा र धुनको प्रयोग हुन्छ। भजनहरु परम्परागत मौलिक भाकाहरुमा लयबद्ध गरिएको हुन्छ ।
■ सन्थाली भाषाको बाइबल तथा भजनहरु सबै भारतबाट आउने भएको कारणले साथै भाषा, संस्कृतिमा हुने विविधताको कारणले धेरै वर्षसम्म नेपालको अन्य मण्डली सम्प्रदायसँगको सम्पर्कमा आउन नसकेको बुझ्न सकिन्छ ।

क्याथोलिक सम्प्रदायबाट प्रोटेस्टेन्ट छुट्टिएको ५०० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको सन्थाली स्वागत भजन तथा नृत्य ।


■ मुर्तिपूजा बाहेक अन्य परम्परागत संस्कृति तथा चलनहरुको अभ्यास अझैपनि लुथरन मण्डली समुदायमा हुने गरेको छ । त्यसैले अन्य जातिहरुमा जस्तै इसाई भएपछि संस्कृति लोप हुने खतरा सन्थालहरुको सन्दर्भमा देखिँदैन। किनभने जातिय नाच, भाषा, जातिय गीतको भाका, भेषभूषा, बाजागाजा सबै लुथरन मण्डलीमा अभ्यास भइरहेका हुन्छन् । मात्र गीतको भाकामा शब्दहरु इसाई भजनको रुपमा राखिएको छ र मुर्तिपूजाका क्रियाकलापहरुलाई छोडिएको छ । यति सम्म कि विशेष विवाह कार्यक्रम मण्डलीभित्र सम्पन्न गरिएपनि बाँकी तौरतरिकाहरु परम्परागत रुपमै थालनी हुन्छ र अन्त्य पनि ।
■ सन्थाल जातिका मानिसहरु एकअर्कालाई अभिवादनको बेला ‘जोहार’ भन्ने गर्दछन् । तपाई बाहिरबाट आएको विश्वासी हो भने मात्र ‘जयमसीह’ भन्ने गर्छन्, नत्र अभिवादनको रुपमा जोहार मात्र प्रयोग गरिन्छ ।
■ सम्पूर्ण सन्थाल जातिका मानिसहरु लुथरन मण्डलीमा मात्र आबद्ध छैनन । मोरङ्मा बीआईसी चर्च, रोमन क्याथोलिक चर्च र झापामा बप्तिस चर्च लगायत अन्य डिनोमिनेशन भएका मण्डलीहरुमा पनि आबद्ध रहेको पाइएको छ ।
■ सन् १९९४ देखि राष्ट्रिय मण्डली संगतिमा आबद्ध भएपछि नेपाली इसाईहरुको अधिकारमुखी सवालहरुको पैरवी कार्यक्रमहरुमा राज्यको केन्द्रीय स्तरमा पनि नेपाल सुसमाचारीय लुथरन मण्डलीको उपस्थिति देख्न सकिन्छ । थप जानकारी तस्वीरमा हेर्नुहोला, जहाँ राष्ट्रिय स्तरको लबिङ मिटिङ्हरुमा रेभ. जोसेफ सोरेनको उपस्थिति देख्न सकिन्छ ।

नेपाली इसाईहरुको अधिकारमुखी सवालहरुमा तत्कालिन नेपाल सरकारका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाउने क्रममा खिचिएका तस्वीरहरु (माथिको तस्वीर सहित) ।
Photo Source: https://www.lutheranworld.org/news/committed-dignified-durable-solutions

समग्रमा अध्ययन गर्दा के बुझिन्छ भने सन्थाल जातिहरुलाई राज्यका विभिन्न निकायहरुबाट बेवास्ता गरिँदै आइएको थियो । जानी वा नजानी नेपाली ख्रीष्टियान समुदायबाट पनि त्यस्तै भएको हुनसक्छ । बाइबलले हामीलाई शिक्षा दिन्छ–‘त्यस्ताहरुको पक्षमा बोल, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरुका अधिकारको निम्ति जो कङ्गाल छन्’ (हितोपदेश ३१ः८)। प्रभु येशू सँधै गरीब तथा असहायको पक्ष लिनुहुन्छ । अब पालो हाम्रो आएको छ ।

नेपालमा लुथरन मण्डलीको इतिहासबारे जानकारी यस लेखमा यत्ति नै, बाँकी अर्को अंशमा प्रस्तुत गरिनेछ । प्रतीक्षा गर्नुहोला । जयमसीह ।

नेपाल सुसमाचारीय लुथरन मण्डलीको स्थापनाबारे अध्यक्ष रेभ. जोसेफ सोरेनसँग गरिएको कुराकानी ।

References:
-History of the Church in Nepal: http://ecs.com.np/features/history-of-the-church-in-nepal
-History of Christian in Nepal: https://nepalchurch.wordpress.com/2016/07/27/history-of-christians-in-nepal/
-नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा, By Jagadish Pokhrel: https://archive.setopati.com/blog/23518
-प्रमोद मुल्मी, रामघाट मण्डलीको संक्षिप्त इतिहास
-Dr. MM Tudu, Some Remarkable Persons of Northern Evangelical Lutheran Church (Part I & II)
-नेपाल इभान्जेलिकल लुथरन मण्डलीको ७५औँ वार्षिकोत्सव स्मारिका

Facebook Comments