इटहरीमा बृहद विलापको प्रार्थना सभा आयोजना हुँदै

अन्तर्राष्ट्रिय प्रार्थना भेला समितिको आयोजनामा यहिँ २४ भाद्र २०७६ का दिन इटहरीमा बृहद विलापको प्रार्थना सभा सम्पन्न हुने भएको छ । सेफ होम सेन्टरसँगको साझेदारीमा ‘राष्ट्र निर्माणको लागि विलापको प्रार्थना’ सभा आयोजना हुने कुरा कार्यक्रम सँयोजक पाष्टर राजकुमार भण्डारी (राजेश) ले बताउनुभयो । बाइबलको घटना अनुसार जसरी नहेम्याहले विलापको प्रार्थना सहित राजाको उपस्थितिमा जाँदा राजाले उनको बिन्ती सुनेका थिए, त्यसरी नै अहिले देशमा भइरहेको अन्याय अत्याचारबाट देशलाई पार लगाउन विलापको प्रार्थना आयोजना गरिने भएको हो ।

उक्त प्रार्थना सभामा प्रमुख वक्ताको रुपमा भारतबाट रेभ. सिल्भानस तामाङ् आउने भएका छन् । यस विलापको प्रार्थना सभाको दर्शन, उदेश्य तथा विषयवस्तुहरुको सार संक्षेप यस्तो छः

दर्शनः
विगत केही वर्षदेखि परमेश्वरले आफ्नो वचनद्वारा यस कार्यक्रमका राष्ट्रिय सँयोजकसँग बोल्नुभयो । प्रस्थान ३ः७–१० बाट बोल्दै उहाँले मोशाद्वारा जसरी इस्रायलीहरुलाई मिश्रीहरुको दासत्वबाट मुक्त गराउनुभयो, त्यसरी नै वर्तमान युगको मानिसहरुलाई शक्तिशाली पापमय बन्धनको दासत्वबाट छुटकारा तथा मुक्त गराउँछु भन्नुभयो ।

सुन्दा अचम्म लाग्न सक्छ, तर परमेश्वरको काम र योजना मानिसहरुको समझ र विचारभन्दा ठूलो हुन्छ । प्रभु येशूले उहाँको आफ्नो शक्तिले यो योजना र काम पूरा गरिरहनुभएको छ । जसरी ती दिनहरुमा इस्रायलीहरुले मोशाको कुरा सुन्न इन्कार गरे, त्यसरी नै आजको मानिसहरुले पनि यो योजना र कामलाई इन्कार गर्नेछन् । तर चिन्ह र कामद्वारा परमेश्वर आफैँले आफ्नो महिमा प्रकट गर्नुहुनेछ । उहाँको काम र चिन्हहरु देखेपश्चात मानिसहरुको विश्वासले काम गर्नेछ र सम्पूर्ण मानिसहरुले पवित्र आत्माको भरपुरी महशुस गर्न थाल्नेछन् । त्यसपश्चात यो देश परमेश्वरको देशको नाऊँले पुकारिनेछ ।

कार्यक्रमको उदेश्यः
परमेश्वरले यो देशलाई चौँथो अन्तर्राष्ट्रि जागृति सम्मेलनको लागि तयारी पार्दै हुनुहुन्छ । यो सम्मेलनको बारेमा परमेश्वरले दिनुभएको दर्शन मानिसहरु माझ पु¥याउन साथै जागृति सम्मेलन निम्ति सबै किसिमले तयार पार्नु यो विलापको प्रार्थना भेलाको मूख्य उदेश्य हो । सो उदेश्य प्राप्त गर्नका लागि दिइएको मितिमा नेपालका सबै जिल्लाबाट पाष्टर, अगुवाहरु एवम् विश्वासीहरुको उपस्थिति हुनेछ ।

प्रार्थनाका विषयवस्तुहरुः
वि.सं. २०९० मा हुने अन्तर्राष्ट्रिय जागृति सम्मेलनको आयोजनाको निम्ति सरकारले हार्दिक स्वीकृति दिन सकोस् र कुनै पनि राजनीतिक हस्तक्षेप नभएको होस् ।

आयोजक समितिका सम्पूर्ण सदस्यहरुमा पवित्र आत्माको अभिषेक, परमेश्वरको ज्ञान र बृद्धि रहेको होस् । कार्यक्रमका लागि हरेक भौतिक आवश्यकताहरु पूरा भएको होस् ।

सँसारभरबाट जागृति सम्मेलनमा सहभागी हुन आउनेहरुको सम्पूर्ण आर्थिक व्यवस्था होस्, सबै कानुनी प्रक्रियाहरु सहज भएको होस् र सम्मेलनमा सहभागी हुनका लागि विश्वभरका मानिसहरुलाई पवित्र आत्माले अगुवाई गर्नुभएको होस् ।

नेपाल देशमा परमेश्वरको सुव्यवस्थित आत्मिक राज्य स्थापना भएको होस् । परमेश्वरको अभिषेकको कारणले नेपाल सरकारले सुशासन कायम राख्न सकेको होस् ।

सँसार शिक्षित र विकसित भइरहेको भएपनि अन्याय, अत्याचार, भ्रष्टाचार, व्यभिचार, हिंसा, घृणा, डाह आदिले भरिएको छ, जहाँ मानव जाति र सम्पूर्ण प्रकृति समेत असुरक्षित छ । यी सबै कुरा अन्धकारको शक्तिको प्रभावले भएको हो । यस्ता कुकृत्यहरु रोक्न अन्तर्राष्ट्रिय कानुन र सरकार नै असफल हुँदै गइरहेको छ । २ इतिहास ७ः१४ अनुसार मण्डलीले विलाप गर्न आवश्यक छ ।

विश्वभरिका पाष्टर, अगुवाहरु, विश्वासीहरुको शारिरीक, आत्मिक स्वास्थ्य असल हुन सकोस् र उहाँहरुको आर्थिक आवश्यकताहरु पूरा होऊन् । उहाँहरुको परिवार प्रभुमा असल हुन सकोस् ।
ख्रीष्टियान समुदायबाट राजनीतिमा, सरकारी निकायमा, सुरक्षा निकायमा, पत्रकारितामा सँलग्न व्यक्तिहरुले निष्पक्ष रुपमा प्रभुलाई महिमा पुग्ने कार्य गर्न सकुन् । शद्रक, मेशक, अवेदनगो, योसेफ, मोशा आदि जस्तै सत्यमामा उदाहरण हुन सकुन् ।

ख्रीष्टको दुलही मण्डली मत्ती ६ः३३ र १ कोरन्थी १३ अध्याय अनुसार स्वर्गको राज्यको स्वभावमा वृद्धि हुन सकोस्, जसले विश्वलाई नै ख्रीष्ट येशूलाई चिनाउन सकोस् ।

प्रत्येक मण्डलीमा पवित्र आत्माको अभिषेकको झरी वर्षिएको होस् । प्रेरित १ः८, ४ः४२–४४, योयल २ः२८ मा आधारित शिक्षा, सँगति, शक्ति र एकतामा प्रगाढ हुँदै जाओस् ।

सात वटै प्रदेशमा प्रदेश भेलाहरु समयमै हुन सकेको होस् ।

साझेदार सँस्था सेफ होम सेन्टरको लागि ।

अन्तर्राष्ट्रिय प्रार्थना भेला आयोजक समितिको लागि ।

यसै सन्दर्भमा यस कार्यक्रममा सँयोजक पाष्टर राजकुमार भण्डारी (राजेश)सँग लिइएको अन्तर्वाता यहाँ भिडियोमा हेर्नुहोला ।

Facebook Comments