‘खाक्चिलुपा’ र ‘रिनाखा’को आविष्कारलाई ‘रिप्लेस’ गर्ने चीज के थियो ?

(सँस्मरणः २० औँ वाम्बूले कविता गोष्ठी, भाग–१)

बैशाखको महिना थियो, नयाँ वर्षसँगै बसन्त ऋतुको मौका छोपेर प्रकृति बैँसले मात्तिएकी थिई । अचानक गणेश दाजुको म्यासेज आयोः ‘तपाईंलाई बधाई छ, अविनाथ राईज्यूको तर्फबाट खबर यो छ कि लिब्जु–भुम्जु कविता पुरस्कार–२०७४ तपाईंको कविताले बाजी मारेको छ ।’ त्यति बेला म भेडेटारको सिरेटोमा साथीहरुसँग बसेर बँगुरको सेकुवाको मासुबाट छाला छुट्याउँदै चपाउँदै थिएँ । त्यो सानो जमातमा कोकाकोलाको गिलास मेरो हातमा मात्रै थियो, यही खुशीमा छेऊको साथीलाई थप सेकुवा खान कर गरेँ । तर, उनी मानेनन् । लरबरिएको बोलीमा जवाफ दिए–‘म एकदमै आफ्नो स्वास्थ्यप्रति सचेत छु, कोलेस्टेरोल मेन्टेन गर्न चिल्लो–चाप्लो खान छोडिसकेँ ।’ अहो! कस्तो गज्जब जवाफ! म दँग परेँ ।

गणेश दाजुको म्यासेजले म भित्र–भित्र धेरै खुशी भइराखेको थिएँ, धन्यवाद फर्काएँ उहाँलाई । सुरुसुरुमा वाम्बुले भाषामा कविता लेख्नुपर्छ भनेर हौस्याउने मित्र विकास सौगात हुन्, त्यसैको परिणाम थियो आजको यो फल । आफ्नो जातिको लागि मैले गर्नसक्ने केही छ जस्तो मलाई लाग्दैनथ्यो । केहि गर्न खोजेपनि त्यो स्वाङ्ग पारेजस्तो, नाटक गरेजस्तो अनपत्यार खालको हुन्छ होला भन्ने डर थियो मनमा । तर, यस घट्नाले वाम्बुले भाषा साहित्यमा केहि गर्न सकिने रहेछ भन्ने आभाष दिलायो ।

करिब छ महिना पछि निम्तो पत्र आयो, ओखलढुँगाको मानेभञ्ज्याङ्ग गाउँपालिका भवनको प्राङ्गणमा मँसिर २० मा सम्पन्न हुन गइरहेको ‘२० औँ वाम्बुले कविता गोष्ठी’ पुरस्कार ग्रहण तथा कविता वाचनको लागि आउनु भनेर । सोही मितिमा मैले काम गर्दै गरेको सँस्थाको सँस्थागत वार्षिक समीक्षा गोष्ठी नेपालगञ्जमा हुन गइराखेको कारणले म साह्रै धर्मसँकटमा परेँ । सँस्थाको तर्फबाट नेपालगञ्ज जानैपर्ने प्रेसर थियो, अर्कोतिर कविता गोष्ठीमा सहभागी हुनु मेरो निम्ति उत्तिकै महत्वपूर्ण, अझ व्याक्तिगत रुपमा यो ऐतिहासिस क्षण हुनेवाला थियो, जुन म गुमाउन चाहन्नथेँ । आखिरमा पुर्वमा रहेका सँस्थाहरुको समीक्षा गोष्ठी पछि पुर्वतिर नै गराउने भन्ने खबर आएपछि म फुरुँङ्ग भएँ ।

मँसिर १९ गते विहान करिब १० बजेतिर पवन भाईलाई लिएर बाइकबाटै ओखलढुँगाको लागि यात्रा थाल्यौँ । दुई वर्ष अघि बाइकबाटै गाऊँ फर्केको थिएँ, बाटो राम्रो थियो । यसैले यो यात्रा पनि आरामदायी र रोमाञ्चक हुने कुरामा म ढुक्क थिएँ । तर मिर्चैयाबाट कटारीको बाटो केहीँ पार गरेपछि नमिठो एड्भेन्चर सुरु भयो । रोडको बेहाल, सर्वत्र खाल्टाखुल्टी अनि धुलैधुलो । कटारीबाट घुर्मीसम्मको यात्रा झनै त्रासदीपूर्ण, विपरीत दिशाबाट कुनै गाडी आयो भने धुलोले एकछिन केहीँ देखिँदैनथ्यो । दुई वर्ष अगाडि त्यहीँ बाटोमा आरामदायी यात्रा नगरेको भए, सायद यत्ति पीडा हुँदैनथ्यो कि !

कुनै समय बाटो यहि थियो, हालत यस्तै थियो । बसमा सिटको लागि टिकट पाइँदैनथ्यो, अनि यात्रा सधैँ बसको छतमा । तरपनि यात्रा रमाईलो नै लाग्थ्यो, रोमाञ्चक नै हुन्थ्यो । तर आज यो ज्यानले किन राजदरबारमै हुर्केजस्तो अभिनय गरिरहेछ ? आफैँले आफैँलाई प्रश्न गरेँ ।

लगभग राती आठ बजेतिर घुर्मी पुग्यौँ । फत्रक्कै थाकिएको हुनाले घुर्मीमै बास बस्ने कि मानेभञ्ज्याङ्ग नै पुग्ने भन्ने बारेमा एक अलमलियौँ । गणेश दाजुले सम्पर्क गर्दै जानु भनेर रामकुमार राईको नम्बर दिनुभएको थियो, मैले फोन गरेँ । रामकुमार राईज्युले ‘यता सबै व्यवस्था छ, दुःख–सुख मिलेर बसौँला, मानेभञ्ज्याङ्ग चौकमा आएर फेरि कल गर्नु’ भनेपछि फेरि हामी सुनकोशी तरेर उकालो लाग्यौँ । रामकुमार राईसँग यो भन्दा कहिल्यै भेट भएको थिएन ।

मानेभञ्ज्याङ्ग पुगेपछि रामकुमार दाजुले एउटा दोकान भित्र लानुभो र सबैसँग भेटाउनुभयो, जहाँ टेबल वरिपरी शुभचन्द्र राई, गणेश राई, ब्याकुल माईला, गजुरधन राई, जीवन हाताचो जस्ता वाम्बुले समुदायका दिग्गज व्यक्तित्वहरु मौजुद हुनुहुन्थ्यो, साथमा सानो जुरेको टँके मामा (उहाँको वास्तविक नाम सायद टँकराज राई हुुनसक्छ) लगायत थुप्रै अपरिचित अनुहारहरु पनि थिए । उज्यालोमा नियालेर रामकुमार राईको मुहारमा हेरेँ, उहाँ त वर्षौँदेखि फेसबुकमा साथी बनेका मानिस रहेछन्–‘आङ्गुस वाम्बुले’ । साथै मानेभञ्ज्याङ्ग गाउँपालिका–५ को वडाध्यक्ष र राष्ट्रिय ब्याडमिन्टनका खेलाडी पनि । मैले भनेँ–‘एहे, आङ्गुस दा उनुस् रैछा है’, उहाँले ‘हो, हो’ भन्नुभो अनि हामी गलल्ल हाँस्यौँ ।

फेसबुकमा वर्षौँदेखि नाता जोडिएको भएपनि आमनेसामने रुपमा प्रायः सबैसँग यो भेट पहिलो पटक थियो । कुरैकुरामा जीवन हाताचोज्युलाई दाजु भनेर सम्बोधन गरेँ, उहाँले हपार्दै भन्नु’भो–‘बुवासँग हामी दाजुभाई हौँ, यसैले तिमीले मलाई बडा भन्नुपर्छ ।’ त्यसपछि मैले उहाँलाई बडा भन्न लागेँ ।
उहाँले सोध्नु’भो–‘तिमीले पहिला मलाई जान्दथ्यौ?’
मैले भनेँ–‘म सानो हुँदा सुनेको थिएँ, जीवन हाताचो भन्ने मान्छेले गाउँघरको मेलामा हुने लडाइँमा दुईचार जना एक्लैले भ्याउँथ्यो रे….!’
तुरुन्त मलाई बिचैमा रोकेर भन्नु’भो–‘लु भयो– भयो, मेरो बारेमा तिमीले राम्रो सुनेको रहेनछौ….।’ पुनः वरिपरी हाँसो गुञ्जियो ।

हाम्रो लागि तातोपानी मगाइयो । पिउँदै बस्यौँ । सबैको मुहारमा एक नजर डुलाएँ, सबैको आँखा लोलाएजस्तो हल्का नशालु देखिन्थ्यो । यत्तिकैमा व्याकुल माइलाज्युले गिलास उठाउनुभो र भन्नुभो–‘हाम्रो खाक्चिलुपा र रिनाखाको आविष्कारलाई रिप्लेस गर्ने चीज चाँहि यहिँ रै’छ क्या’, यति भनेर गिलासको पेय पदार्थ स्वाट्टै पार्नुभो। अरुहरुले पनि हो मा हो मिलाउँदै पूर्ण सहमति दर्शाउनुभो । उहाँको गिलासमा के थियो, यकिन चाँहि भन्न सक्दिँन। तर, दाँयाबाँया हेर्दा रुस्लानका बोतलहरु टेबलभरि ठडिएका थिए ।

चार प्रहर रात बिताउनुपर्ने कता हो भन्ने आशयमा आङ्गुस वाम्बुलेज्युसँग कुरा गरेँ । उहाँले भन्नुभो–‘यहाँ एउटै राम्रो भएको मामा होटल सबै प्याक भएकोले अब यहीँ माथि सुत्नुपर्छ, ओढ्ने लुगा अपुग भएमा आफ्नै ज्याकेट टोपी झ्याप्पै लाएर मिलेर सुत्नुपर्छ ।’ पवन भाई र म एकअर्कालाई पल्याकपुलुक हे¥यौँ । आँखा उठाएर माथि चिर्पटतिर हेरेँ, माथि उक्लिने बाटो देखिँन, सायद अर्कोपट्टी थियो होला । त्यसपछि टँके मामाको सक्रियता अचानक बढेर गयो, उहाँले यताउता गरेर उहाँको आफन्तको घरमा लानुभयो, जहाँ हामी बडो आरामसाथ निदायौँ ।

मानेभञ्ज्याङ्ग डाँडामाथि बसालिएको बजार (सानो सहर) हो, शिशिरयाममा धेरै जाडो हुने गर्छ । यदि टँके मामा नभएको भए सायद अझ राम्रो ठाउँमा सुत्ने थियौँ या त मानेभञ्ज्याङ्गको सिरेटोले ६ वर्ष अगाडिको मेरो निमोनिया बल्झिनेवाला थियो, केवल शँका मात्र ग¥यौँ ।

बिहान हामी उठ्दा टँके मामा गायब । सखारै आफ्नो काममा फर्किनुभएछ । राम्रोसँग उहाँलाई धन्यावाद दिन पनि नपाएकोमा न्यास्रो लाग्यो ।

त्यो दिन मानेभञ्ज्याङ्गमा विहिबारे हाटको दिन थियो । बिहान हामीले पनि हाट भ¥यौँ । यत्तिकैमा गाउँबाट बुवा आईपुग्नुभयो, उहाँ कार्यक्रमको लागि भन्दापनि गाउँपालिकामा आफ्नै कामको लागि आउनुभएको थियो। त्यसपछि हामीले खाना खाएर कार्यक्रम स्थलतिर पाइला बढायौँ ।

हाम्रो देशमा हत्तपत्त निर्धारित समयमा कार्यक्रम समयमा सुरु नहुने परम्परालाई जीवन्त राख्दै तोकिएको समयभन्दा लगभग तीन घण्टा पछि कार्यक्रम सुरु भयो । चुलोमा आगो बालेर कार्यक्रमको उद्घाटन गरियो, आसन ग्रहण, स्वागत मन्तव्य लगायत केहि औपचारिक मन्तव्यहरुपश्चात ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरियो । ‘इक लिब्जु–भुम्जु’ पत्रिकाको नयाँ अँक र गत वर्षको कविता गोष्ठीमा सहभागी कविहरुबाट रचना गरिएका कविताहरुको सँगालो ‘सुरिम’को विमोचन भयो ।

त्यसपछि बल्ल मेरो पालो आयो । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको बाहुलीबाट पुरस्कार ग्रहण गरेँ, त्यसपछि कविता वाचन । यी सबै क्षणहरु मिठो स्मृतिको रुपमा मनमा सँधै रहिरहनेछन् । यसको लागि ‘वाम्रास नेपाल’, आयोजक समिति तथा सम्पूर्ण वाम्बुले समुदायप्रति ऋणी छु ।

कार्यक्रम आफ्नो रफ्तारमा बग्दै थियो, पश्चिम डाँडा पारी घाम लुकेपछि चिसो स्याँठ चल्न लाग्यो । माथि बौद्ध डाँडाबाट गाउँसम्म फेरि कच्ची–भिरालो रोड सम्झेर म अत्तालिन थालेँ र कार्यक्रमबाट उम्किनुपर्ने बाध्यताले पिरोल्न थाल्यो । अन्त्यमा उम्कियौँ, कार्यक्रम अवधिभर बस्न नसकेकोमा क्षमाप्रार्थी छु ।

हेर्दाहेर्दै झमक्क साँझ प¥यो । अघिल्लो दिनदेखि खाएको खानाको एकमुष्ठ बिल तिरेर हामी बाटो लाग्यौँ । निष्पट्ट अँध्यारो रात, वरिपरी जँगल, दायाँबायाँ चिहानघारी, उज्यालोको नाउँमा बाइकको टाउकोबाट निस्केको ज्योति बाहेक अरु केही थिएन । जब डुन्डु डाँडाबाट छ्ँयाडीतिर ओरालो झर्दै थियौँ । पर रोडको बीचमा एउटा कालो मानव आकृति हिँडिरहेजस्तै देखाप¥यो । सानो छँदा थुप्रैपटक भुतप्रेतसँग जम्काभेट गरिसकेको म जस्तो मान्छेलाई त्यो आकृतिले झस्कायो ।

अझ नजिक पुग्यौँ । भुतप्रेत नभएर मान्छे नै भएको यकिन भयो । यस्तो राती एकलास ठाउँमा यसरी भौँतारिनुको उदेश्य के होला ? मनमनमा शँका गरेँ । हातमा कुनै हतियार त छैन भनेर त्यस मान्छेप्रति एकदमै ध्यानकेन्द्रित भयौँ । जब त्यस व्याक्तिको नजिक भएर अगाडि बढ्दै थियौँ, त्यतिबेला पो थाहा भयो, उहाँ त हिजो राती मानेभञ्ज्याङ्गमा सुताईको बन्दोबस्त मिलाइदिने टँके मामा पो रहेछन् । उहाँ पँकु गाउँको एउटा विद्यालयमा शिक्षकको रुपमा काम गर्नुहुँदो रहेछ, र त्यसदिनको आफ्नो ड्युटी सकेर सानोजुरे स्थित घर फर्किँदै गर्नुभएको रहेछ ।

अघिल्लो रात उहाँले गर्नुभएको सेवाको निम्ति हृदयबाट नै मुरी–मुरी धन्यवाद दिँदै हामी छुट्टियौँ । उहाँलाई धन्यवाद भन्न पाएकोमा मन हल्का भयो । त्यसपछि हामी सोझै डोडेँनी मावली बोजुको घरतिर हान्नियौँ, जहाँ तातो मासुभात पकाएर आमाले पर्खिराख्नुभएको थियो ।

(…क्रमशः)

उक्त दिनमा सुमन जाबाबाट वाचन गरिएको कविता यहाँ पनि हेर्न सुन्न सकिनेछः 

Facebook Comments