ख्रीष्टियानहरू किन जबर्जस्ति धर्मपरिवर्तन गराउँछन् ?

जगदीश पोखरेल
जगदीश पोखरेल

यो निकै गम्भीर सवाल हो । धेरैपटक उठेको सवाल पनि हो । बाइबलले त आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न सिकाउँछ,

आफ्नो शत्रुलाई समेत् प्रेम गर्न सिकाउँछ । बाइबलले अरूहरूलाई जबर्जस्ति गर्न कदापी पनि सिकाउँदैन । एकातर्फ बाइबलले यस्तो सिकाउने अनि अर्कोतर्फ ख्रीष्टियानहरू बलजफ्ती वा प्रलोभनमा पारेर मानिसहरूलाई वाक्क पार्ने। यो

कुरा घामझैं छर्लंग छ कि कहीं न कहीं समस्या त पक्कै छ ।

ख्रीष्टियानझैं देखिने केही अनौठा समूहको प्रवेश नेपालमा पनि भएको छ । चिटिक्क कपडा लगाएर घरघर डुल्ने तिनीहरूले पनि बाइबल नै पढ्ने भएका कारण धेरैले उनीहरूलाई नेपालका सम्पूर्ण ख्रीष्टियानहरूको प्रतिनिधि सम्झन्छन् । त्यही गलत सोचले नै धेरै हदसम्म अहिलेको ख्रीष्टियान-विरोधी भावनाहरू जन्माएको देखिन्छ ।

उनीहरू वास्तवमा ख्रीष्टियानहरू होइनन् । बाइबल र इसाईमतको आधारभूत कुराहरूलाई समेत् स्वीकार नगर्ने उनीहरूले आफूहरू ख्रीष्टियानहरू मध्येको एक समूह हौं भनेर स्वीकार समेत गर्दैनन् । आफ्नो घरमा आउने वा बाटोघाटोमा भेटिने उनीहरूलाई तपाईंहरूले सिधै “के तपाईं ख्रीष्टियान हो?” भनेर सोध्नुभयो भने उनीहरूले जरुर “होइन, हामी आम ख्रीष्टियन भन्दा बेग्लै हौं” भन्नेछन् ।

उनीहरूले हिन्दु, बुद्धिष्ट, मुस्लिम वा अन्य कुनै धर्ममा आस्थावान व्यक्तिलाई भन्दा बढी एउटा ख्रीष्टियानलाई पछ्याउँछन् । त्यसको उदाहरण म आफै र धेरै ख्रीष्टियनहरू छन् । जुन समस्याले आफुलाई नै सताइरहेको छ, त्यही समस्याको झुटो दोष पनि उल्टै आफैमाथि लाग्नु सानो पीडाको विषय पक्कै होइन । अरू धर्ममा भएका कतिपय विकृतिहरूजस्तै ख्रीष्टियानको पहिचान बेच्ने गरेर सुरु भएका यी गतिविधिहरूलाई पनि विकृतिको रूपमा सम्बोधन गरिनुपर्दछ ।

यदि कसैले साँच्चै जबर्जस्ति नै गर्दैछ वा मानिसहरूको इच्छाविपरित उनीहरूलाई बाधा पुग्ने गरेर आफ्नो कुरा राख्दैछ भने त्यसलाई सामाजिक अपराधअन्तर्गत राखेर कारवाही गरिनुपर्छ । त्यहाँ धर्मको कुरा ल्याउनु आवश्यक नै छैन ।
तर, कसैले कसैलाई जबर्जस्ति वा प्रलोभनमा नपारिकन, अरुलाई बाधा नपुग्ने हिसावले स्वतः स्फूर्त रूपमा गरिएका कुनै पनि धार्मिक प्रचारप्रसार वा स्वेच्छिक धर्मपरिवर्तनलाई कारबाहीको दायरामा ल्याउन खोज्नु नेपाल आफैंले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी सम्झौताको खिलाफमा जानु हो ।

Facebook Comments