युएईमा क्रिश्चियन फेलोशिप सम्पन्न

कृष्ण कुवँर (महाप्रतिवाद), युएई । युएईमा १४ औं नेपाली ओभरसीज क्रिश्चियन फेलोशिप दुबई प्रान्तको अल्कोज् स्थित डल्स्को भवनमा डिसेम्बर २१ का दिन सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख बक्ता पास्टर जीबन राईं ‘ज्योति’ हुनुहुन्थ्यो । कार्यक्रममा ११ सय जना भन्दा बढी नेपाली ईशाईहरुको उपस्थिति थियो । दुई चरणमा विभाजन गरिएको कार्यक्रम बिहान ९ बजे शुरू भई बेलुका ५ बजे सम्पन्न भएको थियो ।
उक्त नेपाली ओभरसीज क्रिश्चियन फेलोशिपमा नबजागृति मण्डली अबुधाबी, बाइबल सङ्गति अलइन, अशल गोठालो मण्डली सारजा र दुबई नेपाली सङ्गतिका विश्वासीहरु उपस्थित भएका थिए । नेपालका कति ठाउँहरुमा विश्वासीहरू एकीकृत हुन नसकिरहेको अबस्थामा यूएईका मण्डलीहरुले नेपाली ईशाईहरूको निम्ति उदाहरणीय काम गरेका छन् ।
पास्टर जीबन राई ‘ज्योति’ ले यूएईका अगुवाहरु र बिश्वासीहरूको कठोर परीश्रम, उदाहरणीय सङ्गति अनि परमेश्वर प्रतिको तृष्णालाई देखेर छक्क परेको र यो मिलापको सेवा, धेरै ठाउँमा प्रचार गर्ने बताउनुभयो ।


उहाँले येहोशू ३ अध्यायको ५ पद तिमीहरू आफैलाई पवित्र बनाओ, किनकी भोली तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ ।’ बाट उत्साह, प्रेरणा र चेतावनीको बचन, स्वर्ग नर्कको गवाही, जीबन गवाहीहरूसहित बोल्नुभएको थियो । सेवाको अन्त्यमा धेरैले पश्चाताप गर्दै परमेश्वरलाई पछ्याउने प्रतिज्ञा गरेका थिए भने धेरैले चंगाई, छुटकारा पाएका थिए ।


एनओसीएफको आयोजना ख्रीष्टमस र नयाँ बर्षको समय पारी बिगत तेह्र बर्षदेखि उक्त कार्यक्रम हरेक वर्ष गरिदै आएको नेपाली ओभरसीज क्रिश्चियन फेलोशिपका अध्यक्ष पास्टर सोम केसीले बताउनु भयो ।
कार्यक्रम समापनपछि यूएईका नेपाली इशाईहरुमा झनै जागृति आएको छ भने कार्यक्रमले सम्पूर्ण देशमा रहेका नेपाली ख्रीष्टयानहरु एकतामा रही सङ्गति गर्नु पर्ने सन्देश दिएको छ । युएईमा इशाईको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

 

Facebook Comments