हाम्रा प्रयत्नहरु

खाएको बिषले मात्नु वा मर्नु स्वभाविक हो तर खाँदै नखाएको बिष लाग्नु। गरेको अपराधको सजाय पाउँनु न्यायसंगत हो तर गर्दै नगरेको अपराधको आरोपमा सजाय भोगेर पनि मृत्यु पर्यन्त त्यही झूठो आरोपको कलंक लिएर जिउँनुको अनुभवको एक प्रतिनिधि प्रसंग कान्तिपुर राष्ट्रीय दैनिकको फेसबुक पेजमा २७ अगस्त २०१८ मा प्रकाशित “भारतीय सेनामा ‘झुटो’ विद्रोह : ४० वर्षदेखि न्याय खोज्दै” शीर्षकको समाचारमा पढ्न पाईन्छ।

४० बर्ष अघि भारतीय सेनामा सेवारत हुँदा ताका एउटा बिशेष अवसरमा गोरखा शैनिकहरुमा देखिएको सामान्य असन्तुष्टिलाई नै मुद्दा बनाएर जेल सजाय भोगेका तथा बिना कुनै सुविधा जागीरबाट निष्कासित गरिएका वृद्धहरु (भारतीय सेनाका गोरखा रेजिमेंटका भूतपूर्व सेनाका अधिकारीहरु) ले आफुमाथि लागेका झूठा आरोपबाट छुटकारा पाउँन कै लागि गरेका सबै असफल कसरतहरुका बिषयले सबैको हृदय बिचलित तुल्याउँछ।

समाचारमा ती भूपू वृद्धहरुका ४० बर्ष पुरानो संघर्षको उद्देश्य भनेको आफुहरुमा लागेको झूठो कलंक मेटाउँनु बाहेक अरु केही नभएपनि मानिसले युगौँ बितेर गएपनि आफूूलाई लागेको झूठो आरोपको दाग पखाल्न भरमग्दुर प्रयत्न गरी नै रहँदो रहेछ भन्ने यथार्थलाई सतहमा ल्याएकोछ।

हामी कोही पनि दोष, आरोप अथवा रोगको प्रभावमा जिउँन चाहँदैनौँ। माथिको प्रसंगमा झूठो आरोपको चर्चा मात्र गरिएको छैन तर त्यसैको सजाय पनि भोगिसकेको तर पनि त्यही आरोप हटाई दिईयोस र आरोप मुक्त भएर मर्नु पाईयोस भन्ने क्रन्दन पनि सुनिन्छ। रोग दोष र आरोपमुक्त हुने चाह गर्नु मानिसको स्वभाव नै हो र यसको लागी हामी अहोरात्र प्रयासरत पनि छौँ।

वहाँहरुका आफुमा लागेको झूठो दोष पखाली माग्न ४ दशकदेखि लागि पर्नुभएको कुरालाई गहिरिएर बिचार गर्दा हामीलाई लागेको अनि हामी सबैले स्वीकार समेत गरेको सत्य आरोपबाट मुक्त हुनको लागि हामीले कत्तिको प्रयास गरेका छौँ त भन्ने कुरामा मनन् चिन्तन गर्नुपर्ने महशुस हुन्छ।

हामीलाई लागेको र हामी सबैले मुक्तकण्ठले स्वीकार गरेको हाम्रो व्यक्तिगत आरोप यो हो कि “हामी सबै पापी छौँ।” यो आरोप मानव जातीलाई बाईबलले लगाएको हो। बाईबलका अनुयायीहरुलाई उनीहरुका कतिपय मानवीय कमी कमजोरीहरुका तराजूमा जोखेर घृणा हेला गरिएको भएपनि स्वयम बाईबललाई हेला वा घृणा गर्ने दुस्साहस शायदै कसैले गर्ला। हो, सृष्टिको प्रारम्भिक प्रहर मै “मानिस पापी भयो” भनेर बाईबलले भन्दछ। बाईबल अझै अगाडि बढेर बोल्दछ कि “पाप कै कारण मानिस मर्दछ” अर्थात “पापको ज्याला मृत्यु हो।”

अब हामीले स्वीकार गरेको हाम्रो दोष पापबाट मुक्त हुनको लागि हामीले के के गरेका छौँ? हामीले हाम्रा पापको दोष पखाल्न कहाँ कहाँ धायौँ, के के गर्यौँ, क-कसलाई पुकार्यौँ, क-कसलाई गुहार्यौँ? भन्ने कुराको लेखाजोखा पनि हामीसँग अवश्य होला। हामीले हाम्रा पापबाट मुक्तिको कुनै निश्चयता पाएका छौँ त, हाम्रा प्रयत्नहरु कत्तिको फलदायी छन् त? भन्ने प्रश्नहरुका जबाफ हामीसँग के छ त?

बाईबलले मानव जातीलाई पापी भनेर दोष मात्र लगाएको छैन तर पाप, मृत्यु, जीवन, दण्ड, सजायको बिषयमा अनि “के चाहीँ पाप हो त?” भन्ने बिषयमा प्रकाश पार्नुको साथै पापको दण्डबाट उम्कन चाहनेहरुका लागि परमेश्वरले गर्नु भएको अति सरल उपायको पनि चर्चा गर्दछ। पाप कै कारण शरीरमा मर्नु परेको मानिस यदि उसको पाप क्षमा भएको छैैन अथवा परमेश्वरद्वारा उसको पापको क्षमा पाएर धर्मी नठहरिईकन शरीरमा मरेर गयो भने “ऊ फेरी मर्नुपर्नेछ” अर्थात “ऊ नरकमा पर्नेछ” र त्याे चाहीँ उसको “दोस्रो मृत्यु हो” भनेर बाईबलले भन्दछ। यदि यो प्रसंग हाम्रो लागि नयाँ हो भने हामीले पनि हाम्रो पापी स्वभाव, यसको गम्भीरता अनि यसको दण्डबाट छुट्कारा पाउँने उपायको बिषयमा खोजी गर्ने पो हो कि?किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्(रोमी 3:23)।

किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो(रोमी 6:23)।

समाचारमा उल्लेख गरिएको एक वृद्ध भूपू भारतीय गोर्खा शैनिक गमबहादुरले आँखा टिलपिल पार्दै भने, ‘यो दोषबाट मुक्त हुन पाए हाम्रो सास शान्तसँग जानेछ ।’ भन्ने अन्तिम हरफसँगै अरु धेरै प्रश्न उठाउँदै अन्त्य भएको त्यो समाचार तपाँईले पनि पढ्नुभयो?

समाचार पढ्न चाहनुहुन्छ भने यहाँ छ।
https://www.facebook.com/424971730982992/posts/1519809238165897/

Facebook Comments