समय र खोला कहाँ फर्किन्छ र ! तर येशूको त्यो फर्किने ऋतु !

पाँच वर्ष अघि आराधना तालिमबाट फर्केका एकजना दाजुले मण्डलीमा आशिष बाँड्ने समयमा स्पेशल गीत प्रस्तुत गर्नुभयो। गीतको बोल थियोः
फर्कि आउँदैन समय ठिकै हो यो,
फर्कि आउँदैन खोला जो बगिगयो
फर्किआउँदो रै’छ तर येशूको ऋतु
धैर्य रै’छ उनको प्रेममा ।

उहाँले गीत गाइसक्दा धेरैको आँखामा आँसु टिलपिलाईरहेका थिए, गला अवरुद्ध थियो सबैको । सँगति पछि दाजुलाई सोधेँ गीतको बारेमा, तर उहाँले कसले गाएको, रचना गरेको केही जानकारी नभएको केवल आराधना पाठाशालामा सिकाइएको थियो भनेर भन्नुभयो । सँयोगवश मैले उहाँले गीत गाउँदै गर्दा अडियो रेकर्ड गरेको थिएँ मोबाइलमा, त्यो भजनले यति साह्रो मन छोयो कि त्यो अडियो रेकर्ड कयौँपटक दोहो¥याएर सुनेँ । मण्डलीमा आराधना लिड गर्ने पालो मेरो आउँदा प्रायः यो गीत गाउन छुटाइँन ।

बाइबलमा लूका १५ः११–३२ खण्डमा अभिलिखित ‘हराएको छोरो’ कथामा आधारित गीत, वास्तवमै हृदय टुटाउने खालको छ । यो गीत सुनेर जीवनमा परमेश्वरसँगै यात्रामा निस्किेकाहरु तर अनायसै बाटो बिराएर पछुताउनेहरु त्यसै भक्कानिन्छन् ।

मैले ल्यापटमा यो गीतलाई रकर्ड गरेँ र भिडियो बनाएर यु–ट्युबमा हालेँ । त्यतिखेर फाट्टफुट्ट अरुले पनि यस गीतको कभर भिडियोहरु ‘फर्किआउँदैन समय’ शीर्षकमा अपलोड गरेका थिए। तर यो गीतको वास्तविक रचनाकार, गायक को थियो भनेर सायद कमैलाई मात्र थाहा थियो, मलाई भने थाहा थिएन ।
Listen ‘Yeshu Ko Ritu’ Cover Song, By: Suman Java: Jaimasiha, Please Click Here!

वर्ष २०१६ मा सोही गीत एड्रियन देवानको अनप्लग्ड भर्सनमा रिलिज भयो, तर विस्तृतमा पूर्ण जानकारी नभएकोले एड्रियनज्यूले पनि कसैको गीतलाई कभर गर्नुभएको होला भन्ने सम्झेँ । फेरि वर्ष २०१७ मा यस गीतको अफिसियल म्युजिक भिडियो रिलिज भयो, जसबाट निश्चित भयो कि यस गीतको रचनाकार एड्रियन नै थिए, तर गीतमा स्वर टेरेन्स कार्थकको थियो । रोचक कुरा अफिसियल म्युजिक भिडियोमा गीतको अडियो क्वालिटी सोचेजस्तो थिएन, यसैले यो गीत भिडियो बन्नुभन्दा पनि निकै अगाडि नै रेकर्ड भएको हुनुपर्छ । शायद टेरेन्स कार्थकको स्वरमा नै धेरैले सुनेर यो गीत सिके, कतिले मैले झैँ अरुले गाएको भरमा ।

यो लोकप्रिय भजन गीत अहिले पुनः एड्रियन देवानकै स्वरमा नयाँ स्वरुपमा हाम्रोमाझ आएको छ । भाका र शब्द उही छन्, मात्र शीर्षक फेरिएको छ– ‘येशूको ऋतु’ ।

मानिसहरु जति नै सफल किन नहोऊन्, जति नै धर्मी नदेखिऊन्, अवश्य जीन्दगीमा कुनै न कुनै दिन मृत्युको अन्धकारमय घाँटीमा हिँडेकै हुन्छन् । एड्रियनलाई बधाई साथै धन्यावाद, यति सुन्दर गीतको लागि । यो गीत रक्सी खाएको फेला परेको भरमा अनुशासनमा राखिएको पापीको लागि मात्र होइन तर चुन पोतिएका चिहानहरु जस्ता जीन्दगी बाँचिरहेकाहरु सबैका लागि हो ।

यो आशिषमय गीतलाई सुन्नुहोस्ः

प्रस्तुतीः #SumanJava

Facebook Comments