क्रिसमस

ए पादरी हजुर, तपाईंले नै भन्नुभएको होइन
रीतिले रित्याएका र थितिले थिचिएकाहरू अब स्वतन्त्र हुन्छन् ?
अनि तपाईंको त्यही मुखारविन्दबाट सुनिएको होइन
अब उसो हामी कुनै बन्धनमा छैनौ भनेर  ?
तर खै त्यो स्वतन्त्रता ?  अनि खै त्यो ललिपप आश्वासन ?
आज भाउ तोकी तोकी जनही दस्तुर त
तपाईं नै लगाउँदै हुनुहुन्छ म अधमरो माथि
खुशी साटेर क्रिसमस मनाउन !

हिजो देखें पल्लाघरे काजीकोमा
आज मेरोमा खेलिन्छ रे
ख्रीष्ट जन्मको उत्सव गीत क्यारोल,
मेरो छिमेकीले केही फरक देखेनछ
आज बिहानै कान छेउमै आएर फुसलायो
“देउसी जस्तै हुँदोरैछ नि !”
म के भनेर प्रतिवाद गरूँ
म पनि त उस्तै देख्छु
नाङ्लाभरी फलफूल, वरिपरि रिङ्गाईएका मैन वत्ती,
त्यसमाथि दस्तुर सहितको खाम,
स्वाद अनुसारको भोजन, आदि आदि
केवल शब्द र लय मात्र फरक
उस्तै प्रस्तुति र प्रभाव
पात्र र परिवेश मात्र फरक
उस्तै संरचना र प्रवृत्ति
कसरी फरक छ भनूँ छिमेकीलाई ?
म आफैं देउसी र क्यारोल एउटै देख्छु !

वसन्तकों शिरमाथि तुषारो परेर
संसारै उजाड भएको बेला
श्रीमती भन्छिन्
“बाबा एउटा बडेमानको क्रिसमस ट्री सजाऊँ है दैलोमा
हरियाली छाउँछ !
हेर्नुस् त श्वेताको घर कस्तो सिगारिएको छ !”
एउटा सानो मट्याङ्ग्रो बनेर गुलेलीबाट फुत्किएर
सुईंय्य आउँछ र मेरो मुटुको धड्कनलाई
अलिकति बढाएर जान्छ श्रीमतीको आवाज

परिवारका सबैलाई चाहिएको छ नयाँ लुगा, जुत्ता अनि उपहारहरु
त्यसमाथि थप छोरो स्यान्टा बन्छु भन्छ
रातो पोशाक र चकलेट थप्नुपर्ने भो
छोरी बेलुन, तारा र अन्य झिलिमिलिमा आशक्तिएकी छे
नजिकको नर्सरी नै घरमा भित्र्याउँ भन्छे ऊ
श्रीमतीलाई झुमरवाला सारी, सालीलाई जिन्स र लेंगा
सम्झेर पनि के साध्य
बजारै घर पसाउन खोज्दैछ यो क्रिसमस !

क्रिसमसमा पनि नगरे कहिले गर्ने ?
पहिले जस्तो धेरै चाड आउने होइन
वर्षमा एउटा चाड आउँछ
त्यसमा पनि लोभ गरेर हुन्छ ?
मेरो घरको वकिल अर्को फर्मान जारी गर्छिन्
घुँयत्रो बनेर बतासिँदै आउँछ उनको त्यो फर्मान
र ड्याम्म लाग्छ मेरै छातिमा

ए पादरी हजुर ! ए बाइबलका महान ब्याख्याता !
म अन्जान सन्तेको बाउलाई भनिदिनुहोस् न
के स्यान्टा, क्रिसमस ट्री, तारा, झिलिमिलि
र नयाँ लुगा बिना क्रिसमस मनाउन सकिँदैन ?
के देउसी भैलोको धङधङी मेटिनेगरी
क्यारोल नगाएसम्म क्रिसमस मनाउन सकिन्न ?
के दशैं र तिहारको ककटेल रुप नै क्रिसमस हो ?
लौ न भन्दिनुपर्यो
म के गरूँ पादरी हजुर
कसरी जोहो गरूँ क्रिसमस मनाउन ?
बेच्न कसँग केही छैन
यही बूढो शरीर र
त्यसभित्र अटाइएका थोत्रा अवयवहरु बाहेक
त्यही पनि लिलामीमा राखिदिऊँ र ?

लौ न पादरी हजुर यहाँले भने त सबैले मान्छन्
पुलपिटमा उभिएर एकपल्ट भनिदिनुपर्यो
क्रिसमस पर्व होइन भनेर
क्रिसमसलाई दशैं तिहार नबनाऊँ भनेर
बिन्ति छ यहाँले अरु केही भन्नु परेन
मात्र यति भनिदिनुभयो भने
म बाँच्छु, मेरो मण्डली बाँच्छ, मेरो छिमेकी बाँच्छ
र सबैभन्दा ठूलो कुरा स्यान्टा र क्रिसमस ट्रीले थिचेर
मण्डलीभित्रै मारिनुभएको हाम्रो प्रभु
फेरि बाँच्नुहुन्छ यस धरतीमा !

२०७४ पुस ९ गते

Facebook Comments