कविताः अनलाईन बस है साथी, म पनि च्याटिङ्ग गर्न चाहन्छु

इन्टरनेट र टेक्नोलोजीले
उन्नतिका चरमसीमा नाघेका वर्तमान सँसारमा
सबैजना फेसबुक, ह्वाट्सएप र म्यासेन्जरहरुमा
व्यस्त भएको देख्दा
मलाई पनि त्यसै–त्यसै गर्न मन लाग्छ,
त्यसैले–
अनलाई बस है साथी
म पनि च्याटिङ्ग गर्न चाहन्छु ।

हुन त,
फेसबुकमा अपलोड गरिएका सबै कुराहरु
कहाँ साँचो हुन्छन् र ?
यहाँ त,
झुटो प्रोफाइल र स्टाटसहरुको
बजार लागेको देखेको छु,
आफूलाई प्रदर्शन गर्ने मानिसहरुको होडबाजी मात्र चलेको भेट्टाएको छु,
दुईजना नानीको आमाले आफैँलाई,
ब्याचलर भनेको भेट्टाएको छु ।
आफू जवान छँदाको फोटो हालेर,
आफैँलाई जवान छु भन्ने थुप्रै मान्छेहरु भेट्टाएको छु ।

कसै–कसैको त वर्षमा दुई–तीन पटक पनि
जन्म तिथि आउँदो रहेछ ।
कुन दिन जन्मेको दिन र को वास्तविक मान्छे भनी
त्यसै त्यसै अल्मलिएको छु ।
फेसबुकमा हरेक कमेन्टहरुमा
निराश कुराहरु लेखेको देखेको छु ।
जीवनको वास्तविक अर्थ नबुझी
यसलाई त्यसै–त्यसै फालेको देखेको छु ।
कति विद्यार्थीहरुको पढाई र भविष्य अन्धकार भएको पनि देखेको छु ।
कति परिवारहरु लथालिङ्गै भएको सुनेको छु,
रात दिन फेसबुकमै अल्झिरहने
फेसबुक एडिक्टहरु झन कति भेट्टाएको छु ।
अश्लील कुराहरु प्रायः अपलोड हुने कुरा
धेरै पटक सुनेको छु ।
ब्ल्याकमेलिङ्ग र ह्युमन ट्राफिकिङ्गको
डरलाग्दो जञ्जालमा फसेर कति छोरी चेलीहरु
ठूला–ठूला महानगरीहरुमा
बिक्री भएको कतै–कतै पढेको छु ।

तर म चाँहि,
जे साँचो छ, त्यहि लेख्न चाहन्छु ।
झुटो स्टाटस होइन,
साँचो स्टाटस राख्न चाहन्छु ।
अशान्तिमा परेका मानिसहरुलाई
अनन्त शान्तिका कुरा बताउन चाहन्छु ।
निराश भएका मनहरुलाई
आशाको सन्देश दिन चाहन्छु ।
फेसबुक मै अल्झि समय फाल्नेहरुलाई
समयको महत्व बुझाउन चाहन्छु ।
आत्मिक जीवन भत्किएकाहरुलाई,
प्रार्थना, सँगति र वचनको
वास्तविक खाँचो सिकाउन चाहन्छु ।
त्यो भन्दा बढी–
कलवरीबाट बगेर आएको
अनन्त मुक्ति, चँगाई, छुटकारा र अनन्त जीवनको,
वास्तविक कथा सुनाउन चाहन्छु ।
जवानीको कलिलो घाम ताप्न नपाई,
जीवन नष्ट गर्न चाहनेहरुलाई
जीवन इश्वरको एक सुन्दर उपहार हो भनि,
बताउन चाहन्छु ।

यसैले,
अनलाईन बस है साथी,
म पनि च्याटिङ्ग गर्न चाहन्छु ।

पाष्टर उमेश प्रधान ‘उपज’
खर्साङ्ग–दार्जिलिङ्ग, भारत (हाल धरान–१६)
सम्पर्क नंः +977-9800951014, +91-9733365918

Facebook Comments