त्यहीँ त्यो एक पुरानो ठाऊँमा
मेरो मालिकले मलाई बाँधिराखेको,
कस्तो–कस्तो अनौठो मौसममा
मेरो अगाडिको पराल पनि सिद्धिराखेको

म हुन्थेँ त्यहीँ, ऋतुहरु बदलिन्थे
कहिले हुन्थ्यो गर्मी, कहिले जाडो,
मेरी आमासँगै लुटपुटिँदै हुर्केको
पुल्पुलिएको चञ्चले म एक बछेडो ।

उफ्रिँदै नाच्दै, अनि लुकामारी खेल्दै
डाँडापाखा हरियाली चर्ने मेरो रहर,
तर मालिकले सँधै दाम्लोले बाँधि
बाहिर जानु खै, कहिले छोड्थ्यो र !

एकाबिहानै केही मानिसहरु आई
मालिकसँग खासखुस कुरा मिलाए,
मलाई धाप मार्दै अनि थपथपाउँदै
नौलो गोरेटोहरुमा डो¥याए ।

लामा–लामा दाह्री, हँसिलो मुहार
कोही एकजना त्यहाँ हुनुहुन्थ्यो,
मुसुक्क हाँस्दै, चारैतिर हेर्दै
ममाथि सुस्तरी उहाँ चढ्नुभयो ।

चिप्लो बाटो, ढुङ्गेनी जमिन
हिँड्नलाई अप्ठ्यारा बाटोहरु,
सम्हालिँदै गर्दा पनि लरबरिँदै
काम्न थाले मेरा यी कलिला खुरहरु ।

बिच बाटोमा हिँड्दै लमक–लमक
सजिलो बाटो, कम भयो खुरका पीडाहरु,
जति–जति सहर नजिक पुग्यौँ
ओइरिन थाले वरिपरी मानिसका भीडहरु ।

आफ्नो–आफ्नो घरबाट निकाले
अनि बिछ्याउन थाले सुन्दर वस्त्रहरु,
रमाउँदै सबैले गाए, एकै स्वरमा
हल्लाउँदै माथि–माथि खजुरका पातहरु ।

जाँदै नै थियौँ, हिँड्दै नै थियौँ
हामी माथि खुशीका वर्षा वर्षिरहेको,
रमाउँदै थिए जयजयकार गर्दै
यी नारा बुलन्द आवाजमा गाइरहेको ।

‘धन्य होस् जो परमप्रभुको
नाउँमा आउनुहुन्छ, होसन्ना,
हाम्रो पिता दाउदको त्यो
आउने राज्य, परमधाममा होसन्ना ।’

हुलमुलबिच हिँड्दै जाँदा पनि
थिएन मलाई कसैको डर,
ती रंगीन बहुमूल्य वस्त्रहरुमाथि
मेरा यी खुरहरु देखिन्थे अति सुन्दर ।

जब म मेरा मालिकको घरमा थिएँ
मेरा खुरहरु हिलोमा लत्पतिएको हुन्थ्यो,
एक नीच प्राणी, आज यो सौभाग्य पाएँ
जतिखेर येशू राजा ममाथि हुनुहुन्थ्यो ।

रचनाः वि.सं. २०६४ साल, इटहरी
(येशूले चढ्नुभएको गधाको मनमा उब्जिएको भावनामा आधारित कविता हो, धन्यवाद !)

Facebook Comments