धरधरा

धरहराबाट
धुलो र धुँवाको तुँवालोले छोपिएको सहरलाई हेरें ।
अनि सोचें–
के यो सिमेन्टको घारीमा फूल फुल्न सक्छ ?
के कतै फूल रोप्ने फूलबारी होलान् ?

यो उपत्यका
डाँकु र हत्याराको शरणास्थान भएको छ ।
चोरहरु यो सहरमा छिरेपछि लामो सास फेर्छन् ।
भीडहरुमाझ हिँड्दै जाँदा
कति पल, ठोक्किएका छौं तिनीहरुसँग ।
तर कसले भन्न सक्छ–
कि तिनीहरु हत्यारा थिए ?
कसको निधारमा डाँकुको मोहोर लगाइएको छ र ?

रक्तपातपूर्ण हात लिएर,
अन्तरे दाई यही कतै विलिन भएकाछन् ।
उनले खुकुरीले छप्काएकाहरुको आत्मा
खोलाहरु हुँदो अझै भड्किराख्दो हो ।
भेटियो भने,
उसको दौराको फेरबाट,
रगतको टाटा र गन्ध अझै हराएको छैन होला ।

हाय उपत्यका !
तिमी विष गर्भधारण गरिरहेछ्यौ ।
हुर्किरहेछन् साँप तिम्रो गर्भमा ।
तिम्रो घोर अन्धकार छत्रछाँयामा
महिषासुर र गोल्यत खित्का छाडी हाँसिरहेछन् ।

Facebook Comments